Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

पुस, माघको चिसो साँझमा एकजना अर्बपति घरबाहिर टहलिरहेका थिए । रोड छेउमा उनले एकजना गरिब वृद्ध मानिस भेटे । अर्बपतिले वृद्धलाई सोधे- कुनै न्याना कपडा लगाउनु भएको छैन । कतै तपाईँलाई जाडो त भएको छैन ? वृद्धले आफूसँग केही नभएको र यसैमा बानी परेको जवाफ फर्काए । अर्बपतिले ढाडस दिँदै भने- केही समय पर्खनुस्, म तपाईँका लागि न्यानो लुगा लिएर आउँछु ।

खुसी भएका वृद्धले जवाफ दिए- हुन्छ म तपाईँ नआउन्जेल यहीँ पर्खिरहन्छु । अर्बपति घर पुगे । उनी घरकै काममा व्यस्त भए । वृद्धलाई दिएको बाचा भुसुक्कै बिर्सिए । बिहान उनले अपर्झट वृद्ध र आफूले दिएको बचन सम्झिए । जब उनी वृद्ध बसेको ठाउँमा पुग्छ त, वृद्ध कक्रिएर त्यही ठाउँमा मृतावस्थामा भेटिए । वृद्धको शव छेउमा अर्बपतिका नाममा एउटा पत्र थियो । जुन पत्रमा लेखिएको ब्यहोरा यस्तो थियो- ‘जब म सँग लगाउने केही न्यानो कपडा थिएन, तब मसँग चिसो सँग लड्न सक्ने मानसिक शक्ति थियो । तर जब तपाईँले मलाई मद्दत गर्ने बाचा गर्नुभयो, म तपाईँको बचनमा जोडिएँ, त्यही बचनले मेरो मानसिक शक्तिलाई मा¥यो । यही कारण म सजीव रहन सकिन ।

०७ सालको क्रान्तिपछि हरेक नेपालीको अवस्था त्यही वृद्धको जस्तै छ । बर्सेनि पात्रो फेरिए । सरकार परिवर्तनसँगै राजपाटमा अनुहार फेरिए । दर्जनौँ प्रधानमन्त्री मात्र भएनन्, एउटै व्यक्ति पाँच पटकसम्म देशका मुखिया बने । दुईपटक प्रधानमन्त्री नबन्ने अपवाद पात्र छन् । समकालीन विश्वमा नेपाल पूर्व प्रधानमन्त्रीहरूको भीड भएको पहिलो मुलुक बनेको छ । मन्त्री बन्नेको सङ्ख्या त गनेर साध्य नै छैन । मानौँ यहाँको राजनीतिक परिवर्तन मूलतः नेता, कार्यकर्ता व्यवस्थापनको कडी मात्र हो । जीविकाको समस्या मिलको फित्ताझैँ एउटै गतिमा कुदिरहेको छ । सात दशकअघि उठेको सुशासनको आवाज अहिले पनि ज्यूँ का त्यूँ छ । आर्थिक वर्ष आधाको लगभगमा पुग्दा विकास बजेटका लागि छुट्याएको सय रुपियाँमा पाँच रुपियाँ पनि खर्च हुन सकेको छैन । समयले काँडा उमार्दैन । समय आफै साइत कुसाइत हुँदैन । तर व्यवस्थामाथि दोष थोपरेर व्यक्ति उम्किने बेइमानीलाई राजनीतिक चलाखी भनेर व्याख्या गर्ने गरिएको छ । हेर्नुस् त प्रमुख राजनीतिक दलको केन्द्रीय राजनीतिमा सात दशक नाघेकाहरूको भीड छ । केही युवाहरू त झुल्किएका छन् तर ज्येष्ठ नागरिक उमेरका तिनै नेतालाई पार्टी विधानले देवत्वकरण गरेको छ । मुलुक सङ्घीय गणतन्त्रमा त गएको छ तर नेताहरू साढे तीन दशकदेखि अनवरत पार्टीको मुखिया छन् । चिलीमा भर्खरै ३५ वर्षे युवा प्रधानमन्त्री भएका त छन् । के गर्छन् पत्तो छैन । यो शताब्दी विश्वको राजनीतिक सेरोफेरो लोकतन्त्र नाममा निरंकुशताको गोलचक्करमा फसेको स्पष्ट हुन्छ । छिमेकी मुलुक भारतमा देशभन्दा माथि प्रधानमन्त्री नरेन्द्र मोदीको प्रचार छ । उनी हिँडेको, खाएको, बोलेको, गङ्गामा डुबुल्की मारेको देखि देश विदेशका हरेक पाइला र बोलीमा देवत्वकरण छ ।

देश बदल्ने साहस जुटाएर सिंहदरबार पस्नेहरू अन्ततः आफै बद्लिएर फर्कने गरेका छन् । अङ्ग्रेजी संवत् फेरिदा होस या नेपाली फगत यहाँ भाग्य हैन, पात्रो मात्र फेरिन्छ । प्रकृतिले दिएको उत्तरपुस्तिकाको पहिलो र अन्तिम गाताबाहेक नेताले भरिदिनुपर्ने बीचका पाता खाली हुन्छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन झण्डै दुईदशक कसैले पद हल्लाउन नसक्ने वैधानिक व्यवस्था गरेर पदासीन छन् । चीनमा सीको एकछत्र राज छ । सी विचारधारालाई वेद, बाइबल, कुरान र त्रिपिटक बनाइएको छ । श्रीलङ्कामा दाजुभाइ मिलेर राष्ट्रप्रमुख, सरकार प्रमुख, सभामुख मात्र हैन, देशका ६ पदमा एकै परिवारका सदस्य पदासीन छन् । बङ्गलादेशको हालत त्यही छ । पाकिस्तानदेखि खाडी मुलुकहरू यही पथमा छन् । लोकतान्त्रिक व्यवस्थामा नेताहरूको निरंकुशता मौलाउँदो छ । नेपालमा विरलै सभापति दोहोरिने देशकै जेठो दलमा चार बिस उमेर टेक्न लागेका शेरबहादुर देउवाले विजयश्री माला पहिरिएका छन् । तीन दशकदेखि एकछत्र मसाल हुँदै माओवादी अध्यक्ष बनेका प्रचण्डलाई पार्टीकै पुँजी बनाएर अकण्टक पार्टी चलाउने गरी उनकै नाममा पार्टी समर्पण गरिँदै छ । महाधिवेशन नामको नाटक मञ्चन भएपनि त्यसको सम्पूर्ण सामर्थ्य तिनै प्रचण्डमा केन्द्रीकृत हुनेछ । जुनसुकै तिथिको पात्रोको पानो फेरिएपनि सत्तारोहण गर्दाको मरन्च्याँसे पात्र त्यहाँबाट निस्कँदा दौरा सुरुवाल लगाएको पेङ्गुइनजस्तै आकार फर्कने गरेको छ । देश बदल्ने साहस जुटाएर सिंहदरबार पस्नेहरू अन्ततः आफै बद्लिएर फर्कने गरेका छन् । अङ्ग्रेजी संवत् फेरिदा होस या नेपाली फगत यहाँ भाग्य हैन, पात्रो मात्र फेरिन्छ । प्रकृतिले दिएको उत्तरपुस्तिकाको पहिलो र अन्तिम गाताबाहेक नेताले भरिदिनुपर्ने बीचका पाता खाली हुन्छन् ।

अनेक वर्णमा आएका नेपालका शासकहरूले छातीमा हात राखेर बोलिदिने हो भने अधिकांशको हालत उपग्रहजस्तै छ । अरूले भरिदिएको हावाको अनुपातमा उड्ने बेलुनभन्दा परको अवस्था यहाँका सत्तारुढहरूको कहिल्यै रहेन । जसले हावा भरिने मौका पाएनन्, तिनीहरूका लागि सत्ता सधैँ अङ्गुर अमिलोको कथासरह बन्यो । हिन्दी सिनेमाको यो गीत शायद नेपाली राजनीतिलाई देखेर बनाएको हुनुपर्छ- ‘जितनी चाभी भरी राम ने, उतनी चली खिलोना ।’ कुनै आग्रह, पूर्वाग्रह होइन अहिलेसम्म सर्वाधिक महत्त्वपूर्ण भनिएको २००७ सालको राजनीतिक क्रान्तिका नायक मानिएका त्रिभुवनले आत्मसमर्पण गरेका थिए तर विभूषित गरियो राष्ट्रपिताको । गाँस, बास र कपास सुरक्षित गरेर प्रवासमा मुन्टो लुकाउनु नायकत्व हुँदै होइन । यसरी रोपिएको निर्देशित प्रजातन्त्रको बीउ प्रचण्ड पथसम्म आउँदा पनि दुईपाते हुन सकेको छैन । त्यो समयका लेखकले त्रिभुवनलाई राष्ट्रपिताको पदवी भिराए भने अहिलेका लेखकहरूले प्रचण्डलाई देवअवतार हुँदै भित्ते राष्ट्रपतिमा थन्क्याए । आखिर राजनीतिको कोर्स एकपाना पनि अघि बढेन ।

मुलुक राणा शासनबाट मुक्त भएपछि प्रजातान्त्रिक नेपालका ‘लोकप्रिय’ राजा त्रिभुवनले भनेका थिए- ‘जनताहरूद्वारा निर्वाचित हुने प्रतिनिधिहरूद्वारा बनाइने प्रजातान्त्रिक संविधानअनुसार शासित होउन् भन्ने हाम्रो सदैवदेखिको इच्छा र संकल्प छ । हाम्रो देशको परिस्थितिमा सम्भव हुने यथाशक्य शीघ्रताको साथ संविधानसभाका लागि चुनाव गरिने प्रयत्न गरिँदै छ । हाम्रो देशको संविधान त्यही हुनेछ । जुन यस संविधानसभाद्वारा तयार गरिनेछ ।’ राजा त्रिभुवनको यो सपना उनी बाचुन्जेल पूरा हुने छाँटकाँट कतै देखिएन, उनका छोरा महेन्द्रले राजपाट सम्हालेको चार वर्षपछि देशवासीका नाममा गरेको सम्बोधन यस्तो विरक्त लाग्दो थियो- ‘हालै इलेक्सन कमिसनबाट पेश भएको रिपोर्ट र मन्त्रिमण्डलबाट उक्त घोषित तिथिमा आमचुनाव हुन नसक्ने ब्यहोरा उल्लेख गरी चुनाव यथाशक्य, यथाशीघ्र गराउन प्रयत्नशील हुनेछ भन्ने हाम्रो हजुरमा जाहेर हुन आएबाट सो घोषित तिथिमा चुनाव हुन नसक्ने भएको छ भनी आज फेरि घोषणा गर्नुपरेकोमा स्वभावत: हामीलाई जति खेद लागेको छ, देशवासीलाई पनि भनिरहनुपर्ने कुरो छैन ।’ ६ दशकपछि गणतान्त्रिक मुलुकका पहिलो महिला राष्ट्रपति विद्या भण्डारीको हालत पनि दुरुस्त उस्तै छ । त्यो बेला पनि राजा महेन्द्रले दलहरूलाई यस्तै नैतिकताको पाठ सिकाउँथे, जसरी अहिलेकी महामहिमले सिकाउनु परिरहेको छ । यी सबै घटनाक्रमले उब्जाएको एउटै प्रश्न हो- ६ दशकसम्म एउटै रोटेपिङमा हामी किन मच्चिरहेका छौँ ? कहिल्यै घिउ नलाग्ने धोका र कपटको राजनीतिक खेल कहिलेसम्म खेलिरहने ? यस विषयमा घोत्लिने समय धेरैपल्ट घर्किसकेको छ । अनि सधैँ हात लाग्ने गरेको एउटै बस्तु हो- पश्चात्ताप ।

न पढ्नुपर्ने, न लोकसेवा लड्नुपर्ने, न कुनै दायित्वबोध गर्नुपर्ने बस गरिदिए पुग्ने जागिर बनेको छ राजनीति । यसअघिका परिवर्तनले केही औँठा छापेलाई हैसियत दिँदा अहिले त झन् गाउँका नामी कुखुरा चोर, भट्टीका दिग्विजयी ट्वाँके, हुल्याहा, फटाहाहरू सत्ताको केन्द्रबिन्दुमा पुगेका छन् । यो नै नेपाली राजनीतिको ननिको पाटो हो ।

राजनीतिमा मात्र हैन, हामीले दैनिक भोग्ने र सुन्ने आख्यानका नियति उस्तै छन् । रामायणकालीन महर्षि परशुराम यति घमन्डी र रिसाहा थिए कि जो सँग पनि लड्न तयार हुन्थे । कतिसम्म भने आफ्नो पिताजी क्षेत्रीयसँगको युद्धमा मारिएपछि उनले क्षेत्रीलाई विद्या नै नसिकाउने संकल्प गरे । आखिर आख्यानको त्यही हठी परशुराम पात्रले अहिले पनि समाजमा विचित्र लीला देखाइरहेका छन् । यी पात्र कतै पुलिसको भेषमा बलात्कारी, कतै गुण्डागर्दीको कमाइमा कानून आफ्नो मुट्ठीमा कैद गर्ने अघोरी त कतै जातीय नारा उचालेर वर्ग विभाजनको अभियन्ता बन्दै हिँडेका छन् । त्यतिबेलै किताब लेख्ने, स्वर्ग मत्र्य सुनको सिँढीले जोड्ने महत्त्वाकाङ्क्षी रावण राक्षस बनाइए । तर सत्यको जामा लगाएका हामीमा त्यो रामराज्यदेखि यो रामराज्यसम्म आउँदा उही गरिबी, उही आर्तनाद छ । अहिले पनि रामका थुप्रै सीताहरू न्याय माग्न सरकारका घरदैलोमा धाइरहेका छन् । मात्र शैली फेरिएको छ । हामीले टेकेको धरातल कति कमजोर छ भन्ने उदाहरण त समाजमा हुने अपराधका कहालिइलाग्दा घटनाले प्रमाणित गर्दै आएका छन् । बैंकमा राखिएको पैसा सुरक्षित छैन । बाउले छोरो, छोरोले बाउ ठगेको छ । न्यायकर्मीबाट न्याय, नेताबाट राजनीति, डाक्टरबाट रोगी, लेखकबाट कलमले गुहार मागिरहेका छन् ।

भनिरहनु पर्दैन थुप्रै कालखण्डमा जन्मिएका निरंकुशताको पर्दा च्यातिएपछि हामीले उन्मुक्तिको संसार पाएका हौँ । यो स्वतन्त्र आकाश खोज्ने कैयौँ स्वतन्त्रताका सेनानीहरूले पाएको यातना, नेल र हतकडीका डोबहरू अझै आलै छन् । परिवर्तनको यो मोडसम्म आइपुग्दा असङ्ख्य लडाकुहरूको बलिदानीको सट्टा यो अवसर प्राप्त भएको हो । लोकतन्त्र, काख रित्तिएका आमाहरूको भरिलो आशा हो, सिन्दूर पुछिएका युवतीहरूको गौरवको प्रतीक हो, टुहुरा नानीहरूको अभिभावक हो अनि सहारा गुमाएका बाबुआमाको टेक्ने लौरो हो । समग्रमा मुलुक डोर्‍याउने अनुशासनको डोरी हो लोकतन्त्र । राजनीति नामको कमण्डलु बोकेर हिँड्ने गरिब सोचका वर्णशंकर सन्तानले सामाजिक मूल्य मान्यता र पद्धतिमा धावा बोल्दा लोकतन्त्रको अनुहार अमिवाजस्तै भएको छ । न पढ्नुपर्ने, न लोकसेवा लड्नुपर्ने, न कुनै दायित्वबोध गर्नुपर्ने बस गरिदिए पुग्ने जागिर बनेको छ राजनीति । यसअघिका परिवर्तनले केही औँठा छापेलाई हैसियत दिँदा त्यो राजनीतिमा खोट देखाएर गणतन्त्रको यात्रा तय गरिएको थियो । तर अहिले त झन् गाउँका नामी कुखुरा चोर, भट्टीका दिग्विजयी ट्वाँके, हुल्याहा, बताहाहरू सत्ताको केन्द्रबिन्दुमा पुगेका छन् । यो नै नेपाली राजनीतिको ननिको पाटो हो ।

तपाईको प्रतिक्रिया