शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – युक्रेनमाथि बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यस महिना दोस्रो पटक फोन वार्ता हुँदै छ । बिहीबार अर्थात् आज दुवै देशका राष्ट्र प्रमुखहरूले आगामी सुरक्षा वार्ता र युरोपको अवस्थाबारे छलफल गर्ने भएको ह्वाइट हाउसले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

युक्रेनी सीमामा रुसी सैन्य स्थापनाको प्रतिक्रियामा साझा परामर्श र समन्वय गर्दै बाइडेन प्रशासनले युरोपेली सहयोगी र साझेदारहरूसँग व्यापक कूटनीतिमा संलग्नता जारी राख्ने ह्वाइट हाउसले जनाएको छ ।

यस्तै बाइडेनले पुटिनसँग वार्ता गर्नुअघि युरोपेली नेताहरूसँग कुरा गरिसकेको र बाइडेन प्रशासनका अधिकारीहरूले नाटो, ईयू र ओएससीईसँग बहुपक्षीय संलग्नता जारी राखेको विज्ञप्तिमा उल्लेख छ ।

रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना नरहेको दाबी गर्दै आएको छ । तर, लाखौंको सङ्ख्यामा युक्रेनी सीमामा रुसले हतियार सहित सैन्य स्थापना गरेको छ । युक्रेनले भने रुसले आक्रमणको योजना बनाएको दाबी गरेको छ।

रुसले सन् २०१४ मा युक्रेनसँगै जोडिएको क्रिमियामा आक्रमण गरेर कब्जा गरेको थियो । अमेरिकाले युक्रेनमाथि आक्रमण गरेमा कडा परिणाम भोग्नु पर्ने भन्दै रुसलाई चेतावनी दिएको छ ।

यसअघि डिसेम्बर ७ मा पनि पुटिन र बाइडेनबीच फोन वार्ता भएको थियो । त्यति बेला पनि युक्रेनकै सुरक्षा चिन्तामा वार्ता केन्द्रित थियो । रुसले युक्रेनलाई पश्चिमी शक्ति र खास गरी नेटोको सुरक्षा कबचका रूपमा मान्ने गरेको थियो।

 

तपाईको प्रतिक्रिया