शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – कोरोना महामारी र यसको नयाँ भेरिअन्ट ओमिक्रोनको चर्को संक्रमण गतिका कारण जापानले विदेशी पर्यटकहरुको लागि अन्तर्राष्ट्रिय सीमाना बन्द गरेको छ । र अझै पनि भिषा-होल्डिंग बासिन्दाहरु र यहाँ कै नागरिकहरुलाई समेत देशमा सहजै फर्कन अनुमति दिन सकिने वातावरण बनेको छैन।

तर यसको मतलब जापान सरकारले विदेशी यात्रु र उनबाट देशमा हुन सक्ने आम्दानीको आस नै मारेको भने छैन । भर्खरैका समाचार रिपोर्टहरूका अनुसार, जापानले धनी यात्रुहरूलाई देशमा न्यानो स्वागत गर्ने योजना बनाएको छ । स्रोत अनुसार निजी जेट वा सुपरयाटहरू मार्फत जापान प्रवेश गर्ने धनाढ्य र प्रसिद्ध व्यक्तिहरूको लागि सरकारले आप्रवासन प्रक्रियालाई छिटो र सरल बनाउने भएको छ ।

त्यस्ता धनी यात्रुहरूले पर्याप्त खर्च गर्ने र महामारी पछिको आर्थिक पुनरुत्थानलाई गति दिन मद्दत पुग्ने सरकारले अपेक्षा गरेको छ ।

हाल पर्यटनका लागि निजी जेटबाट आउने यात्रुको हकमा जापानको विमानस्थलमा अवतरण हुनुभन्दा १० दिनअघि आवेदन दिनुपर्ने हुन्छ । नयाँ योजनामा सो समयावधि घटाएर व्यापारिक प्रयोजनका लागि प्रवेश गर्नेहरुलाई जस्तै तिन दिन बनाइने  भएको  छ । यद्यपि यो नयाँ प्रणाली कहिले देखि ल्याउने भन्ने विषयमा कुनै ठोस समय भने तोकिएको छैन ।

यसका साथै निजी जेटबाट आउने धनाढ्य पर्यटकहरूलाई प्रोत्साहन गर्न प्रवेश प्रक्रियालाई पनि थप सरल बनाउन कदम चालिने छ । निजी जेट अपरेटरहरूको लागि उडान गर्न, इन्धन भर्न र ह्याङ्गरको प्रयोग गर्न आवश्यक आवेदन प्रक्रियामा पनि लचकता ल्याइने भंएको छ ।

जापानमा निजी जेटबाट प्रवेश गर्न सकिने हानेडा र नारिता लगायत १० वटा विमानस्थल छन् ।

सुपरयाचहरू र पानीबाट यात्रा गर्ने अन्य निजी जहाजहरूले अहिले पोर्टमा कल गर्दा प्रत्येक पटक चालक दल र कार्गोको विवरणहरू बुझाउनु पर्ने झन्झट छ । जुन नयाँ योजनामा सरलीकृत गरेर जापानबाट प्रवेश र प्रस्थान गर्दाको समयमा मात्र विवरण दिनु पर्ने बनाइने छ ।

धनाढ्य पर्यटकहरूले सरलीकृत र सहज प्रवेश प्रक्रियाको फाइदा लिन थप प्रेरित गर्ने हेतुले जापान सरकारले जापान टुरिजम एजेन्सी मार्फत जापानका दस क्षेत्रहरू छनौट गरि विलासी होटल, उच्चस्तरीय रेष्टुरेन्ट र उच्च गुणस्तरीय सांस्कृतिक अनुभवको वातावरण तयार गर्ने योजना पनि बनाइरहेको छ ।

तपाईको प्रतिक्रिया