आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – युक्रेनमा रुसले आक्रमण गर्नसक्ने त्रासबीच त्यसको ‘कडा प्रतिक्रिया’ जनाउने तयारी गरिराखिएको अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति र उनका रुसी समकक्षीबीच भएको भिडिओ वार्तापछि वासिङ्टनले त्यसो भनेको हो ।

भिडिओ वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेको र बलियो आर्थिक तथा अन्य प्रतिक्रियाको धम्की दिएको वासिङ्टनले जनाएको छ । पछिल्लो समय युक्रेनसँगको सीमा नजिकै रुसले सैन्य उपस्थिति बढाएको छ । तर छलफलका क्रममा रुसले युक्रेनलाई आक्रमण नगर्ने जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीएभमाथि उक्साहटपूर्ण कार्यहरू गरेको आरोप लगाएका छन् । उनले रुसनजिक हतियार तैनाथ नगर्ने र पूर्वतर्फ उत्तर एटलान्टिक सन्धि संगठन नेटोको विस्तार नगरिने विषयमा प्रत्याभूतिको माग गरेका थिए । रुसी समाचार संस्था टासका अनुसार विगतमा स्थापना गरिए पनि प्रयोग भने नगरिएको एक सुरक्षित भिडिओ लिङ्कमार्फत् बाइडन र पुटिनबीच कुराकानी भएको थियो ।

छलफलको सुरुवाती समय देखिने भिडिओ फुटेजमा दुई देशका नेताहरूले मित्रतापूर्वक अभिवादन गरेको देखिन्छ । त्यसपछिको गोप्य छलफल झन्डै दुई घण्टासम्म चलेको बताइएको छ । पुटिन सोचीस्थित आफ्नो निवासबाट छलफलमा सहभागी भएको टासले जनाएको छ । क्रेमलिनले छलफल स्पष्ट रहेको बताउँदै दुई देशले संवेदनशील विषयहरूमा मिलेर कामहरू जारी राख्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया