सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा चारदिने औपचारिक भ्रमणका क्रममा मंगलबार दिल्ली पुगेका छन् । बिहीबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारतीय समकक्षी मनोजमुकुन्द नरभणेको निमन्त्रणामा शर्मा नेतृत्वको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डल मंगलबार बिहान दिल्ली पुगेको हो । स्थल सेनाध्यक्ष नरभणेले साउथ ब्लकस्थित कार्यालयमा शर्मालाई स्वागत गरेका छन् ।

दुई देशका सेनापतिबीच आपसी हित र पारस्परिक सम्बन्धमा द्विपक्षीय छलफल भएको नेपाली सेनाले जनाएको छ । भारतीय सेनाले शर्मालाई भारतको सुरक्षा परिप्रेक्ष्यबारे ब्रिफिङ गरेको छ, जसमा अहिलेको अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा परिवेशबारे भारतीय सैनिक दृष्टिकोण समेटिएको छ ।

मंगलबार भारतीय समकक्षी र रक्षा मन्त्रालयका सचिवसँग भेटवार्ता गरेका प्रधानसेनापति शर्माले बिहीबार प्रधानमन्त्री मोदी, सुरक्षा सल्लाहकार अजित डोभाल, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री डा. एस जयशंकरसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

बुधबार बिहान प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्नबाट सुशोभित गर्ने कार्यक्रम छ । शर्माले बिहीबार मध्याह्न १२ बजे प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यसूची छ । बिहीबारै रक्षामन्त्री राजनाथ सिंहसँग बिहान १०:३० बजे र विदेशमन्त्री जयशंकरसँग बिहान ११ बजे भेटवार्ता गर्ने कार्यसूची छ । त्यस्तै, पौने १ बजे प्रधानसेनापति शर्माले भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने तय भएको छ ।

भारतीय समकक्षी नरभणेको निमन्त्रणामा शर्मा नेतृत्वको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डल मंगलबार बिहान दिल्ली पुगेको हो । गत असोजमा कार्यभार सम्हालेपछि उनको यो पहिलो भारत भ्रमण हो । प्रधानसेनापति शर्माको प्रतिनिधिमण्डलमा सेनाको युद्धकार्य तथा व्यवस्था महानिर्देशक (डिजिएमओ) उपरथी निर्मलकुमार थापा, सैनिक सहायक चोक ढकाल, दिल्लीस्थित सैनिक सहचारी आरसी खत्रीलगायत सहभागी छन् ।

तपाईको प्रतिक्रिया