सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडाैं – पत्रकारहरू मारिया रेसा र दिमित्री मुरातोभलाई फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ साहसिक सङ्घर्षका लागि यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कार समितिले पुरस्कृत जोडीले ‘त्यो सिद्धान्तका लागि उभिने सबै पत्रकारको प्रतिनिधित्व गर्ने’ बताएको छ । ओस्लोस्थित नर्वेजीयन नोबेल इन्स्टिच्युटले ११ लाख अमेरिकी डलर बराबरको पुरस्कारको घोषणा गरेको हो । उनीहरू ३२९ जना मनोनीत व्यक्तित्वबाट छानिएका हुन् ।

र्‍यापलर समाचार वेबसाइटका संस्थापिका रेसाले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेर ‘आफ्नो देश फिलिपिन्समा अख्तियार दुरुपयोग, हिंसाको प्रयोग र बढ्दो अधिनायकवादविरुद्ध आवाज उठाएको’ समितिले बताएको छ । र्‍यापलरको प्रत्यक्ष प्रसारणमा रेसाले आफू अचम्मित भएको बताइन् ।

उनले आफ्नो जितले ‘तथ्यबिना केही पनि सम्भव नरहेको… तथ्यबिनाको विश्व भनेको सत्य र विश्वासबिनाको विश्व’ हुने देखाएको बताइन् । समितिले नभोया गजेटा नामक स्वतन्त्र पत्रिकाका सह-संस्थापक र सम्पादक मुरातोभले दशकौँदेखि रुसमा चुनौतीपूर्ण अवस्थामा अभिव्यक्ति स्वतन्त्रताको लागि लडेको बताएको छ ।

टेलिग्राम च्यानलको एक अन्तर्वार्तामा उनले भने- ‘म हाँसिरहेको छु। मैले यसको आशा गरेको थिइनँ । यहाँ रमाइलो अवस्था छ ।’ उनले सो पुरस्कार रुसी पत्रकारिताका लागि भएको बताएका छन् । उनलाई क्रेमलिनका प्रवक्ताले बधाई दिएका छन् । दिमित्री पेस्कोभले भने- ‘उनले आफ्नो आदर्श अनुसार निरन्तर काम गरे, उनी आदर्शप्रति समर्पित रहे, उनी प्रतिभावान् छन्, उनी बहादुर छन् ।’

‘स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिताले अख्तियार दुरुपयोग, झूट र युद्ध प्रोपागान्डाबाट जोगाउँछ,’ समितिले एक विज्ञप्तिमा भनेको छ । ‘अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता नभए देशहरूबीचको भ्रातृत्व, निःशस्त्रीकरण र हाम्रो समयमा राम्रो विश्व व्यवस्था प्रवर्द्धन हुन सक्दैन ।’ गत वर्ष नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिइएको थियो ।

तपाईको प्रतिक्रिया