सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडाैं – परमाणु ऊर्जाले चल्ने अमेरिकी पनडुब्बी साउथ चाइना सी- दक्षिण चीन सागरमा ‘अज्ञात वस्तु’सँग ठोक्किँदा एक दर्जनभन्दा बढी अमेरिकी नौसैनिक सामान्य घाइते भएका छन् ।

यूएसएस कनेटिकट शनिवार एउटा वस्तुसँग ठोक्किँदा १५ नौसैनिकलाई सामान्य चोट पटक लागेको अमेरिकी अधिकारीहरूले जनाएका छन् । उनीहरूले के कारणले सो दुर्घटना भयो भन्ने स्पष्ट नभएको बताएका छन् ।

अमेरिकी नौसेनाका प्रवक्ताले सो पनडुब्बी अहिले गुआमस्थित अमेरिकी क्षेत्रतर्फ लागेको बताएका छन्।

‘यूएसएस कनेटिकटमा परमाणु क्षेत्रलाई असर परेको छैन र त्यो पूर्ण सञ्चालनको अवस्थामा छ,’ एक वक्तव्यमा ती नौसेना प्रवक्ताले भने । उनले पनडुब्बीमा कति क्षति भयो भन्ने बारे अझै आकलन भइरहेको बताए ।

किन साउथ चाइना सीमा विवाद ?
यूएसएस कनेटिकट विश्वको सबैभन्दा विवादास्पद क्षेत्रमा रहेको थियो । चीनले साउथ चाइना सी को अधिकांश भाग आफ्नो भएको दाबी गर्छ तर छिमेकी मुलुकहरू र अमेरिकाले त्यसलाई अस्वीकार गर्छन् ।

फिलिपिन्स, ब्रुनाई, मलेशिया, ताइवान र भियतनामले चीनको दाबी अस्वीकार गर्छन् तर हालैका दिनमा त्यहाँ विवाद बढिरहेको छ । अमेरिकाले ती धेरै देशहरूको जलक्षेत्राधिकारको दाबीलाई समर्थन गर्छ ।

एसिया प्रशान्त क्षेत्रमा किन तनाव ?
यो घटना अमेरिका, यूके र अस्ट्रेलियाले एसिया प्रशान्त क्षेत्रको विषयमा ऐतिहासिक सुरक्षा सहमति गरेको केही सातामा भएको छ । सो सहमतिलाई चीनलाई दबाब दिने सहमतिका रूपमा हेरिएको छ ।

ओकस सहमति अनुसार अमेरिकाले अस्ट्रेलियालाई परमाणु ऊर्जाले चल्ने पनडुब्बी निर्माणका लागि आवश्यक जानकारी दिनेछ । यसैबीच अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले चीन र ताइवान छुट्टाउने क्षेत्रको शान्ति भङ्ग गर्ने कार्यबाट आफू गम्भीर बनेको बताएका छन् ।

चीनले लगातार चौथो दिन ताइवानको हवाई क्षेत्रमा सैन्य जहाज उडाएको घटनापछि उनको त्यस्तो अभिव्यक्ति आएको हो । के अमेरिकाले ताइवानको सुरक्षाका लागि सैन्य शक्ति प्रयोग गर्छ भन्ने प्रश्नको जबाफमा सलिभनले भने- ‘अहिलेलाई यति मात्रै भनौँ कि हामी त्यो दिन आउन नदिने गरी गर्नुपर्ने सबै कुरा गर्छौँ ।’

बुधवार ताइवानका रक्षामन्त्रीले चीनले सन् २०२५ सम्ममा आफ्नो देशलाई आक्रमण गर्न तयार भएको हुनसक्ने बताएका छन् । ताइवानले आफूलाई स्वतन्त्र मुलुक मान्छ भने चीनले त्यसलाई आफूबाट विद्रोह गरि टुक्रेर गएको प्रान्त मान्छ जसलाई उसले आवश्यक परेमा शक्ति प्रयोग गरेर भए पनि नियन्त्रणमा लिनुपर्ने मान्यता राख्दछ ।

तपाईको प्रतिक्रिया