सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – ताइवानका रक्षामन्त्रीले चीन सन् २०२५ सम्म ताइवानमाथि पूर्ण मात्रामा आक्रमण गर्न सक्षम हुने बताएका छन् । रक्षामन्त्री चिउ कु-चेङले अहिलेको तनावलाई ४० वर्षयताकै सबैभन्दा खराब भन्दै चीन अहिले नै ताइवानमाथि आक्रमण गर्न समर्थ रहेको पनि बताएका छन् ।

चाइना टाइस्मसँग कुरा गर्दै चिउले चीन अहिले नै सक्षम भएको तर तीन वर्षमा पूर्ण तयारीसहित आक्रमण गर्न सक्ने बताएका हुन् । ‘२०२५ सम्म चीनले उसको लागतमा र शत्रुको बल र विश्वासलाई अति नै घटाउनेछ । ऊसँग अहिले नै क्षमता छ, तर धेरै कुराहरूमा विचार पुर्‍याउनु पर्ने भएकोले उसले सजिलै युद्ध सुरु गर्ने छैन’, उनले भने ।

चीनले शुक्रबारयताका चार दिनमा मात्रै करिब डेढ सय युद्ध विमान ताइवानको एयर डिफेन्स जोनमा पठाएको थियो । बेइजिङले ताइवानलाई आफ्नो एक प्रान्तको भएको दाबी गर्छ ।

ताइवानमा प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारलाई विखण्डनवादीको आरोप लगाउँदै आवश्यक परे शक्तिको प्रयोग गरी ताइवानलाई पुनः कब्जा गर्ने चीनको वाचा छ । तर, ताइवान सरकारले भने ताइवान एक सार्वभौमसत्ता सम्पन्न देश भएको भन्दै स्वतन्त्रताको घोषणा गर्न आवश्यक नरहेको बताउँदै आएको छ । मंगलबार ताइवानकी राष्ट्रपति साइ इङ-वेनले ताइवान ‘दुस्सहासी’ नहुने तर आफ्नो रक्षाको लागि जे पनि गर्न सक्ने बताएकी थिइन् ।

तपाईको प्रतिक्रिया