सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडाैं – हालसम्मै ठूलो सङ्ख्यामा चुहिएका वित्तीय दस्तावेजहरूको अध्ययनले विश्व नेता, राजनितिज्ञ र अर्बपतिहरूका गोप्य धन तथा कारोबारबारे खुलासा गरेको छ ।

करिब ३५ वर्तमान र पूर्वनेता तथा ३०० भन्दा बढी सार्वजनिक अधिकारीका विवरण ‘प्यान्डोरा पेपर्स’ नाम दिइएको देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीहरूका फाइलमा फेला परेको छ । ती कागजपत्रले जोर्डनका राजाले यूके र अमेरिकाका सम्पत्तिबाट सात करोड पाउन्ड गोप्य रूपमा जम्मा गरेको देखाउँछ ।

त्यसबाहेक पूर्वब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयर र उनीकी श्रीमतीले लन्डनस्थित कार्यलय खरिद गर्दा सम्पत्ति खरिदसम्बन्धी करबाट ३ लाख १२ हजार पाउन्ड जोगाएको भनिएको छ । उनीहरूले उक्त भवन खरिद गर्ने एउटा अफशोर कम्पनी नै किनेका थिए ।

दस्तावेजमा के के छन् ?
चुहिएका दस्तावेजहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बन्ध मोनाकोमा रहेको गोप्य सम्पत्तिमा देखाउँछ । अनुसन्धानमा आईसीआईजेसँग सहकार्य गरेको खोज पत्रकारिता केन्द्र नेपालका अनुसार अफशोर कम्पनी खोलेर लगानी गर्नेहरूमा नेपालका पनि ठूला व्यापारिक घरानिया रहेका छन् ।

चेक प्रधानमन्त्री आन्द्रे बाबिस दक्षिणी फ्रान्समा एक करोड २० लाख पाउन्ड बराबरका दुईवटा भिल्ला खरिद गर्न अफशोर लगानी कम्पनी प्रयोग गरेको तथ्य घोषणा नगरी बसेका थिए । यो हप्ता चेक गणतन्त्रमा हुने संसदीय चुनावलाई प्रभावित पार्न र आफूलाई बदनाम गर्न ती दाबीहरू गरिएको उनको भनाइ छ ।

चुहिएका ती दस्तावेजमा पाकिस्तानी प्रधानमन्त्री इमरान खाननिकट व्यक्तिहरूको दशौँ लाख डलर सम्पत्ति रहेका गोप्य कम्पनी र कोषहरूमा स्वामित्व रहेको पाइएको छ । उनको मन्त्रिपरिषद्‌ र परिवारका सदस्यहरूको नाममा ती सम्पत्ति रहेको छ । त्यसबारे जबाफ दिँदै प्रधानमन्त्री खानले प्यान्डोरा पेपर्समा नाम रहेका सबै पाकिस्तानी नागरिकबारे आफ्नो सरकारले छानबिन गर्ने र कुनै गल्ती गरेको स्थापित भए कारबाही गरिने बताएका छन् ।

उनले सम्भ्रान्तहरूले ‘गलत ढङ्गले’ कमाएको सम्पत्तिसम्बन्धी रहस्योद्घाटनको स्वागत गरेका छन् । प्यान्डोरा पेपर्सले केन्याका राष्ट्रपति उहुरु केन्याटाले दशकौँसम्म अफशोर कम्पनीको सञ्जालमाथि गोप्य रूपमा आफ्नो स्वामित्व कायम राखेको देखाएको छ । एउटा सेअर र बन्डसम्बन्धी कम्पनीमा तीन करोड डलर लगानी गरिएको थियो ।

केन्याटा परिवारले कुनै प्रतिक्रिया दिएको छैन । तर केन्याटाले सन् २०१८ मा बीबीसीलाई उनको परिवारको सम्पत्तिबारे सबैलाई थाहा भएको र राष्ट्रपतिको हैसियतमा आफूले कानुन अनुसार सम्पत्ति सार्वजनिक गरेको बताएका थिए ।

लगभग एक करोड २० लाख दस्तावेजको अनुसन्धान
सात वर्षमा भएको यो अफशोर करोबारसम्बन्धी पछिल्लो खुलासा हो । यसअघि फिनसेन फाइल्स, द प्याराडाइज पेपर्स, द पानामा पेपर्स र लक्सलिक्स खुलासा भएका थिए ।

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था इन्टनरन्याश्नल कन्सोर्टिअम अफ जनर्लिस्ट (आईसीआईजे) ६५० जना पत्रकारसँग मिलेर पछिल्लो विवरण बाहिर ल्याएको हो । बीबीसी पानोरोमाले गार्जियन र अरू सञ्चारमाध्यमसँग मिलेर लगभग १ करोड २० लाख दस्तावेज र फाइलहरूमा पहुँच पाएको थियो । ती दस्तावेज ब्रिटिश भर्जिन आइल्याड्स, पानामा, बेलिज, साइप्रस, द युनाइटेड अरब एमिरेट्स, सिङ्गापुर र स्विटजरल्याण्डका वित्तीय सेवा कम्पनीबाट लिइएका थिए ।

कतिपय व्यक्तिहरूले भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर र विश्वव्यापी करछलीको आरोपको सामना गरिरहेका छन् । तर एउटा सबैभन्दा ठूलो खुलासामा कसरी नाम चलेका र धनी व्यक्तिहरूले गोप्य रूपमा यूकेमा सम्पत्ति जोड्न कानुनी रूपमा नै कम्पनीहरू खडा गरिरहेका छन् भन्ने देखिन्छ ।

यसले अफशोरमा सम्पत्तिको स्वामित्व रहेका व्यक्तिहरूको विवरण राख्न यूके सरकार विफल रहेको देखाउँछ । यूकेमा सम्पत्ति जोड्ने कतिपय व्यक्तिले कालोधन लुकाएको हुन सक्ने चिन्ताका माझ यूकेले पटक पटक त्यस्ता व्यक्तिको विवरण राख्ने बताएको थियो । आईसीआईजेले अहिलेको अनुसन्धानले ‘लुकाइएका धेरै कुरा खुल्दै जाने’ भन्दै यसको नाम ‘प्यान्डोरा पेपर्स’ नाम दिइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया