सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडाैं – गर्भपतन अधिकारको समर्थनमा अमेरिकाका ५० वटै राज्यमा दशौँ हजारले प्रदर्शन गरेका छन् । टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनको सेवासम्म पहुँचमा कडाइ गरेको विरोधमा अमेरिकामा महिलाहरू प्रदर्शनमा जुटेका हुन् ।

गर्भपतन स्वैच्छिक अधिकार हुनुपर्ने पक्षधरहरूले आफूहरूको संवैधानिक अधिकार खोसिने चिन्ता व्यक्त गरेका छन् । अमेरिकाको सर्वोच्च अदालतले आगामी महिनाहरूमा गर्ने सुनुवाइले ‘रो भि वेड’ भनिने गर्भपतनलाई कानुनी मान्यता दिने सन् १९७३ को आदेश उल्टाउन सक्ने चिन्ता गरिएको छ ।‘गर्भपतनलाई कानुनी मान्यता’ भन्नेजस्ता नारा र सङ्केतहरू सहित प्रदर्शनकारीहरूले राजधानी वासिङ्टन डीसीमा रहेको सर्वोच्च अदालत अगाडी ‘मार्च पास’ गरेका थिए । करिब दुई दर्जनको सङ्ख्यामा रहेका प्रदर्शन विरोधीहरूले र्‍यालीको सुरुमै अवरोध पुर्‍याउने प्रयास गरेका थिए । त्यो अवरोध प्रदर्शनकारीहरूको गीत र तालीमा ओझेल परेको वासिङ्टन पोस्ट पत्रिकाले उल्लेख गरेको छ ।

आगामी डिसेम्बर १ अमेरिकाको सर्वोच्च अदालतले मिसिसिपि राज्यमा १५ हप्तापछि गर्भपतनमा रोक लगाउने कानुन विरुद्धको सुनुवाइ तय गरेको छ । यदि अदालतले यो कानुनलाई मान्यता दिए सन् १९७३ को ‘रो भि वेड’ आदेश उल्टिन सक्छ । ‘रो भि वेड’ले आफू सक्षम नभएसम्म गर्भपतन गर्ने महिलाको अधिकार रक्षा गर्छ । आदेश अनुसार महिलाहरूले गर्भावस्थाको तेस्रो त्रैमासिक वा २८ हप्ता अघिसम्म गर्भपतन गर्न पाउँछन् ।

तपाईको प्रतिक्रिया