सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडाैं – ताइवानले ३८ वटा चिनियाँ जहाज आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ । शुक्रवार भएको यो घटना बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ भनिएको छ ।

ताइवानको रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता सहितका विमानहरू ‘एअर डिफेन्स आइडेन्टीफिकेसन जोन’ भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको जनाएको छ । लगत्तै ताइवानले आफ्ना लडाकु विमानहरूको परिचालन गर्नुका साथै क्षेप्यास्त्र प्रणाली तैनाथ गरेर प्रतिक्रिया जनाएको छ ।

चीनले प्रजातान्त्रिक अभ्यास गरिरहेको ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेर्ने गरेको छ भने ताइवानले आफूलाई छुट्टै सार्वभौम देश ठान्छ । ताइवानले विगत एक वर्ष यता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ ।

‘चीन क्षेत्रीय शान्ति बिथोल्न नियोजित रूपमा सैन्य आक्रमणमा संलग्न छ,’ ताइवानका प्रधानमन्त्री सु जिन चाङले शनिवार सम्वाददाताहरूसँग भने । बेइजिङस्थित चीन सरकारले यो समाचार तयार पार्दासम्म घटनाबारे कुनै सार्वजनिक टिप्पणी गरेको छैन ।

यसअघि उसले यस्ता उडानहरू आफ्नो सार्वभौमसत्ता रक्षा तथा ताइवान र अमेरिकाबीचको साँठगाँठ विरुद्ध लक्षित रहेको बताएको थियो । ताइवानको रक्षा मन्त्रालयले वक्तव्य मार्फत २५ चिनियाँ पिपुल्स लिवरेसन आर्मीका विमानहरू आफ्नो दक्षिण पश्चिमी हवाई प्रतिरक्षा पहिचान प्रणालीमा प्रतास टापुमाथि दिउँसै प्रवेश गरेको जनाएको छ ।

त्यस लगत्तै शुक्रवार साँझ ३१ वटा थप विमानहरू त्यही क्षेत्रमा प्रवेश गरेका थिए। उनीहरू ताइवान र फिलिपिन्सको समुद्रमाथि उडेका थिए । ताइवानका अनुसार चार वटा परमाणु हतियार बोक्ने क्षमताका एच-६ बमवारि गर्ने विमानहरू थिए भने एउटा पनडुब्बीमाथि आक्रमण गर्ने क्षमता राख्ने विमान थियो ।

तपाईको प्रतिक्रिया