कुनै पनि समाज निर्माणमा धेरैको मेहनेत, समय र योगदान खर्चिएको हुन्छ । आफु बसेको समाज र आफु बाँचेको समय मानिसको लागि सबैभन्दा प्रियकर हुने हुँदा अत्यधिक उन्नत, सार्थक र उपलब्धिमुलक होस् भन्ने चाहना सबैको हुन्छ । यसका लागि सबैबाट उत्तिकै इमान्दार भूमिका अपेक्षित हुन्छ । बनाउन जति गाह्रो हुन्छ बिगार्न र भत्काउन ज्यादै सजिलो हुन्छ चाहे समाज, राष्ट्र वा वातावरण नै किन नहोस् ।
सन्दर्भ, जापानको नेपाली समुदायको हो । नेपालीमा एउटा उखान छ ’हेर्दा हेर्दै भाउजू राँड’ भनिएझैं हेर्दा हेर्दै जापानको नेपाली समुदाय यतिबेला निकै गिजोलिएको अवस्थामा छ । दशकौं लगाएर निर्माण गरिएको जापानको नमूनायोग्य नेपाली समाज पछिल्लो समयमा विश्वमै बदनाम हुन पुगेको छ । जापानमा नेपाली समुदायको इतिहासमा यो भन्दा गिजोलिएको अवस्था यसअघि कहिलै थिएन र नहोस् पनि । यसलाई सुरक्षित अवतरण गराउनेतर्फ कसैको ध्यान छैन । मिलेर बसेको नेपाली समाज यो भद्रगोल र गञ्जागोलको स्थितिमा कसरी पुग्यो ? यसको मुख्य कारण के हो र समाधान के हुनसक्छ ? यसको जबाफदेही निकाय को हो ? भन्ने बारेमा कसैको रत्तिभर चासो, चिन्ता र पहलकदमी छैन । एउटा भनाई छ, ’सके राम्रो गरौं, नसके नराम्रो नगरौं’, यसरी नै अर्को भनाई छ – ’सकेसम्म सफासुग्घर राखौं, सकिदैंन भने फोहर नगरौं’ भनिएझैं बनाउन नसक्नेलाई भत्काउने अधिकार पनि कदापि हुँदैन । सबैलाई आफ्नै डम्फू बजाईमा सर्बाधिक आनन्द मिलिरहेको छ, नेपालको राजनीतिको झझल्को दिनेगरी आफै मात्र ठीक, अरु सब बेठीक भन्ने मनोविज्ञानबाट ग्रसित अगुवाहरु कसैले कसैलाई टेर्नेवला छैनन् । न उनीहरु अरुले सुन्न लायकको एउटा लेभलको गतिलो र तार्किक कुरो गर्छन् न त अरुको जायज कुरो सुन्न नै धैर्य गर्छन । समस्याको जड यहिनेर छ ।
जापान जस्तो सभ्य समाजमा बस्दै गर्दा मिलेर बस्ने यहाँको सँस्कार, यहाँबाट सिक्न सकिने स्वस्थ्य र समृद्ध जीवनशैली, उन्नत चेतसहितको एक-अर्काप्रतिको सम्मानभाव जस्ता मानव जीवनका अत्यन्त महत्वपूर्ण र ब्यवहारिक पक्षलाई हामीले उपेक्षा गरेकैले आजको अवस्था आएको हो भन्न सकिन्छ । अर्कोतिर हामीले आफुलाई सच्याउने र स्तरोन्नति गर्ने तर्फ कहिलै ध्यान दिएनौ बरु आफुले जे जति जानेको छ त्यसैमा सँधैभरि सर्बज्ञानी बनेर प्रस्तुत हुन भने कहिलै छोडेनौं ।
सन्दर्भ, एनआरएन जापानभित्रको घरझगडा र लफडाले जापानका निर्दोष नेपालीहरुमाथि अन्याय भएको छ, विश्वसामु शिर निहुराउनु परेको छ । अब त अन्तर्राष्ट्रिय इस्यु नै बनिसकेको र उकुस नै पल्टिन आँटेको यो विवाद सल्टाउन भने यहाँका ठूला टाउकेहरुलाई पटक्कै जाँगर छैन । उनीहरु आफ्नो अबको पोजिशन सुरक्षित कसरी हुन्छ भन्ने चिन्तामा देखिन्छन् । घरभित्रको झगडा ’भाँडमा जाए’ भनिएझैं असरल्ल छोडेर उनीहरु आफ्नो दुनो सोझ्याउन मै तल्लिन छन् । उनीहरुबीचको जुंगाको लडार्इं, पूर्वाग्रही मानसिकता, कित्ता काटाकाटको स्थितिले गर्दा उनीहरुमा समस्या समाधानका लागि पहलकदमी लिने तत्परताको अभाव देखिन्छ । यस्तो नौटंकीकाबीच जापानले मात्रै केन्द्रीय समिति नै बनाउने झैं गरी उम्मेदवारीको लर्को र आफु आफुमा फेरि रस्साकस्सीको स्थितिलाई आमन्त्रण गरेको देख्दा भने उनीहरुको नेतृत्व गर्ने क्षमताको राम्रै मापन र प्रदर्शन भईरहेको बुझ्न सकिन्छ ।
विश्वका जुनसुकै स्तरका विवादहरु पनि अन्तिममा टेबुलमा आएरै टुंगिने गरेको उदाहरण बारे हामी सबै जानकार छौं । तर जापानका नेपालीहरुको प्रतिनिधिमुलक औसत र हैसियत यतिबेला सामाजिक सञ्जालमा नियमित प्रदर्शन भईरहेका छन् । उदेकलाग्दा फोहोरी दोहोरी चलिरहेका छन् । भनिन्छ, एउटा माघले हिउँद जाँदैन, आखिर एउटै समाजमा मिलेर बस्नुको विकल्प छैन, मिलन बिन्दु खोजौं, नमिलेका छेउकुना मिलाऔं, छानबिनले निकालेको निश्कर्षलाई पनि सम्मान गरौं, असन्तुष्टिका स्वरहरुलाई बेवास्ता नगरौं, बढि जिम्मेवार बन्ने भनेको जिम्मेवारीमा बसेकाहरु नै हो र त जस-अपजस पनि उसैको हुन्छ । बदलाको भावनाले हैन आफु बदलिएर समाजमा उदाहरण बनौं, त्यसपछि समाजले स्वतः रुपान्तरणको दिशा समात्छ ।***