देशमा धमाधम सिनेमा हल बन्द भइरहेका छन् । घरैपिच्छे खुलेका अस्पतालमा रोगीको संख्या बढेर खुट्टा हाल्ने ठाउँ छैन । सहरका चिल्ला र राम्रा घर शिक्षाका नाममा खुलेका व्यापारिक प्रयोगशाला हुन भनिदियो भने ९९ प्रतिशत सही हुन्छ । अस्पताल रोगी निको पार्ने पवित्र जनसेवी थलो नभएर स्टार होटलको सुविधा दिने सुरक्षा कवचमा रुपान्तरण हुँदै गएका छन् । यो दृश्यले अब के होला भन्दा पनि हुन बाँकी के रहृयो भन्ने अवस्थामा मुलुक घचेटिदै गएको छ । अस्पताल पुगेको विरामी बचाउनुपर्ने चिकित्साशास्त्रको परम कर्तव्य थाती राखेर खल्तीको योग्यताबाट उसको जीवनमरणको भाग्यरेखा कोरिन्छ । न्याय माग्न पुलिस प्रशासनको ढोकामा पुगेको एउटा नागरिक पहुँचको मापदण्डबाट उसको भावी कर्मकाण्ड निर्धारण हुन्छ ।
१८ वर्षमा न्यायको ढोका ढकढकाउन गएको एउटा पट्ठो युवक तारिख धाउँदा धाउँदै घुँडा र च्यापु जोडिने हजुरबा भइसक्दा पनि उसलाई पत्तो हुँदैन । भिमसेनलाई पसिना आएको सनसनी खबर बन्छ तर देशका लाखौं युवाहरु ५० डिग्रीको आग्राको भुंग्रोमा सेकिएको समाचार बन्दैन । त्यो भन्दा अगाडि आफूले भोग्ने दैनिक डायरीको पाना पल्टाउनुस् त । धारामा पानी छैन, घरमा बिजुली छैन, बाटोमा हिँड्दा बाटो छैन, गाडीमा सीट छैन, पौरख गर्नेलाई काम छैन । जताततै फोहोरको साम्राज्य छ । फोहोरलाई हेर्ने चश्मा अझ विकृत हुँदा फोहोर सँधै समस्याको खेती बनेको छ । अन्तरीक्ष यात्रीहरुले मंगल ग्रहमा पानी भएको पत्ता लगाइसके तर तीन दशकदेखि नेपालमा मेलम्ची नामको विकासे आयोजना दाउरे र बञ्चरोको कथा बनाएर फेरि बिलाएको छ । संसार एउटा मान्यता र विश्वासमा अडेको हुन्छ । गुड्छ र गन्तव्यमा पुर्याउँछ भन्दैमा शवबाहन चढेर जन्ती गइँदैन । कपडा हो भनेर कात्रोको सुट सिलाइँदैन । भगवानको भजन हो भनेर दिउँसो भजन सुनिदैन । पुर्खाहरुले त्यसै भनेका होइनन्- सुख पाएँ भनेर सिरक नओछ्याउनु, दुख पाएँ भनेर डस्ना नओढ्नु ।
जब मानिस आफ्नै सोचाईको खाल्डोमा फस्छ, कर्णालीका अक्करे भीर पनि फिका लाग्छ । राजनीतिका नाममा धोकाको विकल्प धोका रोज्ने पद्दति पुस्तौनी नासो बन्दै आएको छ । मासु भात खाने र आँसु भात खानेको खाडल झनझन् बढ्दै जाँदा असन्तुष्टिका लाभा बढ्दै काबु बाहिर पुगेको छ । शिल्पीहरुले बुझ्नुपर्छ- देश बनाउने कुनै राजनीतिक तन्त्र, विद्याले नभएर इच्छाशक्तिले हो ।
संविधान बनेपछि सबैका समस्या निदान हुन्छ भन्ने राजनीतिक प्रतिवद्धता अहिले कहाँ पुग्यो ? संविधान आएपछि मुलुकको अवस्था बेहुली अन्माएको घर जस्तो भयो । गणतन्त्र मसिहा ठान्ने प्रचण्ड मेलामा हराएको बच्चाजस्तो भएका छन् । उनीभित्र परिवर्तनको स्वामित्व ग्रहण गर्ने तत्परता भएको भए यस्तो अवस्था रहने थिएन । बरु अहिले प्रचण्डले देखाएको व्यवहार एसएलसीमा भक्कुमार चिट चोरेर प्रथम श्रेणीमा पास भएको तर आइएस्सीमा फेल भएपछि रन्थनिएर कापी काट्ने सरलाई सत्तोसराप गर्ने काँचो विद्यार्थीको जस्तै बन्न पुगेको छ । राम्रो बन्न तेल, जेल, राम्रा लुगा, उद्योगधन्दा, बन्द व्यापार र सुत्ने खाट नरोजेर असल बन्ने बाटोमा लागि दिएको भए प्रचण्डले यो दिन देख्नुपर्ने थिएन । राजासंग पौंठेजोरी खेल्न हौसिने प्रचण्डलाई नियतिले राजा त के राजा मान्ने कमल थापाको पार्टीसंग तुलनायोग्य पनि बनाएन । विद्रोह गर्नु र देशको राजकीय दायित्व निर्वाहको चरित्र समान हुँदैन । एउटा मान्यता विस्थापित गर्दा अर्को मान्यता स्थापित गर्नुपर्ने प्राकृतिक सत्य आत्मसात् नगर्दा न हाँस न बकुल्लाको चालमा समाज रुपान्तरित भयो । भैंसीले दिनमा तीनपल्ट नुहाओस् न आखिर कहिल्यै ननुहाउने गाई नै पूजाको हकदार भएजस्तै चुनाव जित्दैमा नेपालको राजनीतिमा भाले भइँदैन भन्ने प्रमाणित भएको छ । जाडोमा जुनसुकै समुदाय, सम्प्रदाय र जातिको होस् उसलाई न्यानो प्यारो हुन्छ । घामको प्रकाश प्यारो हुन्छ । प्रकृति प्रदत्त मानव कायाले प्रेमको विकल्प प्रेम खोज्छ । संसारका सबै मानिसले बुझ्ने साझा भाषा हाँसो सवैलाई प्रियकर लाग्छ । हो, यस्ता शाश्वत सत्यलाई जब पाखण्ड र स्वार्थका आवरणले छोपेर विभाजित गर्न खोजिन्छ, त्यतिबेला असन्तोषको रापले पोल्छ ।
राजनीतिमा सफल क्रान्तिकारी राजनेता ठहरिन्छ भने असफल नेता अपराधी । शान्ति प्रक्रियामा देशकै सर्वेसर्वा एक्लो शेर हुँदा पनि प्रचण्डले एउटा माखो मार्न सकेनन् । भित्ते राष्ट्रपति, पशुपति पुजारी, कटुवाल प्रकरण, विवाद समाधान समिति, राज्य पुननिर्धारण समितिदेखि भारतसंग सिंगौरी खेल्ने सम्मका दृश्यमा उनको गतिविधि लाटाले बाउ घुर्क्याए भन्दा माथि उठ्न सकेन । कुरै खाने, कुरै सुत्ने, कुरैमा उठने बस्ने सामाजिक कूरीति टुप्पादेखि फेदसम्म संस्थागत बन्दै गयो । सवै नेपाली पञ्च हुन् भन्ने पञ्चायतको गीति लय सबै नेपाली कार्यकर्ता हुन, सबै कार्यकर्ता नेपालीमा रिमिक्स भयो । राजनीतिले मानिसलाई खुशी हैन, सुखी हुने मृगतृष्णामा दौडाइरहेको छ । हामी अघि बढिरहेको दृश्य यति अराजक र अप्ठ्यारो छ, मानौं जहाँ घोडाभन्दा अघि बग्गी दौडिरहेको छ ।
आत्मीय प्रेम, सद्भाव र बन्धुत्व द्रौपदीको सारीजस्तै समाजबाट चिरहरण हुँदै गएको छ । सवैथोकको जड आखिर त्यही दृष्टिकोण त रहेछ । यति हुँदाहुँदै पनि प्रचण्ड देशको राजनीतिले युगमा जन्माएको एउटा प्रतिभा हो । अब उनले सबै रंगका फलफूल समेटिएको रंग नहराएको सलादजस्तो देशको परिकल्पना गर्नुपर्छ । चिल्लो कपाल मात्र होइन, सबै जनताको रोटी खाने अधिकार नभएसम्म जनतालाई केक काट्न नदिने लेनिनको जस्तो दृढ इच्छाशक्ति विकास गर्नुपर्छ । प्रविधि र सूचनाको छताछुल्ल विश्वलाई नजरअन्दाज गरी पुस, माघको ठिहीमा कार्यकर्तालाई आईसक्रिम बेच्न पठाएर आफू रेड लेबलमा झुम्दाको परिणाम के हुँदोरहेछ भन्ने पाठबाट सवक सिक्न जरुरी छ । भगवानले त पुजिने क्रमसम्म पुग्दा शिल्पीले हानेको निर्मम प्रहार खप्नुपर्छ भने मान्छेको अग्निपरीक्षा स्वभाविक हो । अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले त्यो पदमा पुग्नुअघि के मात्रै भोगेनन् ? आमा मरिन्, बिहे गर्न कुरा छिनिएकी प्रेमिका मरिन्, ऋणमा डुबे, दर्जन पटक चुनाव हारे, महिनौं बिरामी भएर ओछ्यानमा थलिए तर हरेस खाएनन् । उनको त्यही इच्छाशक्तिले उनलाई अमेरिकाको १६ औं राष्ट्रपति बनायो ।
अहिले पाइला पाइलामा महँगो शिक्षाले सस्तो व्यवहारलाई प्रश्रय दिएको छ । घरघरमा असन्तुष्टिको आगो सल्किएको छ । कोही कसैसंग सन्तुष्ट छैन । सामाजिक सद्भाव यसरी खल्बलिएको छ कि एउटा पुस्ताले अर्को पुस्तालाई निषेध गर्ने अचम्मको संस्कार भित्रिएको छ । नातिले हजुरबाको अभिभावकत्व ग्रहण गरेको विरलै देख्न पाइन्छ । टुकुटुकु हिँड्ने सन्तानलाई दरिलो टेको दिएर उभ्याउने अघिल्लो पुस्ताका हातहरुमा अहिले नाति र छोराको हात नभएर निर्जीव लाठी जीवनको सहारा बनेको छ । सभ्यताका नाममा छोरा बुहारी युरोप अमेरिका भासिएपछि नातिनतिनाको तिर्सना मेट्न पप्पी पाल्ने ठालुहरुको संख्या बढेको छ । भात खानेहरुलाई भुजा खानेहरुको भीडले अल्पमतमा पार्दै लगेको छ । खाए मकै, नखाए भोकैको सँस्कृतिमा हुर्किएर सहर पसेकाहरु पप-कर्नमा रमाउन थालेका छन् । उनीहरुको जिब्रो गुन्द्रुक, सिन्कीमा लर्बराएर हिमालय सुपमा सुहाउन थालेको छ । क, ख, एबीसीडी बनाउनेहरु पक्कै पनि निरक्षरी थिए । तर तिनै अपठितहरुले बनाएको बार्हखरी पढेर आफूलाई स्वघोषित मुर्धन्य ठान्नेहरुले न ‘ए’ अगाडि केही पत्ता लगाउने सके, न ‘ज्ञ’ पछाडि केही खोज्न सके । राम्रो विचारले कालान्तरमा राम्रै कर्मको जन्म दिन्छ । त्यागको अभिमान धनको अभिमानभन्दा बढी खतरनाक हुन्छ । गौतम बुद्ध मूर्ति पूजाका विरोधी थिए । तर कालान्तरमा विश्वभर लाखौं उनैका मूर्ति बनाइए । प्रत्येक मानिस बुद्ध हो । मात्र फरक भगवान गौतम बुद्ध उठेका बुद्ध हुन् भने हामी सुतेका बुद्ध । हरेक मानिस जागृत हुने हो भने बुद्धत्व प्राप्त गर्न सक्छ । गाई जुनसुकै रंगको किन नहोस दूध त सेतै हुन्छ नि ।
राजा विक्रमादित्यले एकपल्ट कालिदाससंग भने- ‘तिमी विश्वका महान साहित्यकार र बुद्धिजीवी मध्येमै सर्वश्रेष्ठ मानिन्छौ । तर त्यो अनुरुप तिम्रो रुप, शरीर कालो र कुरुप छ ।’ यो सुनेर कालिदास त्यतिबेला केही बोलेनन् । एकदिन राजा विक्रमादित्यलाई ज्यादै तिर्खा लाग्यो । कालिदासले राजाका लागि माटो र सुनको दुईवटा भाँडोमा पानी ल्याएर भने- ‘महाराज ! यी दुई भाँडो मध्ये कुन भाँडोको पानी पिउन चाहनुहुन्छ ?’ राजाले भने- ‘माटाकै भाँडाको पानी शितल छ । त्यसैले म त्यही पिउन चाहान्छु ।’ मौका यही हो भन्ठानेर कालिदासले पालोको पैंचो तिरे- ‘महाराज, जसरी शितलता भाँडाको सौन्दर्यमाथि निर्भर गर्दैन, त्यसरी नै बुद्धि र हार्दिकता पनि शरीरको सौन्दर्यमाथि निर्भर गर्दैन ।’
भगवान रामदेखि कृष्णसम्म, अब्राहम लिंकनदेखि महात्मा गान्धीसम्मका व्यक्तित्वलाई संसारमा पूज्य के ले बनायो । उत्तर हाजिर छ- राजनीति । दक्षिण अफ्रिका देशभन्दा अघि मानिस नेन्शल मण्डेला सम्झन्छन् । उनीसंग सहमत, असहमत संसारका हरेक मानिस उनको जन्मघर चिहाउन पुग्छन् । आखिर किन ? राजनीति उनको इमान्दार संकल्प । तर देशलाई छातीबाट कहिल्यै अलग गरेनन् । देश के हो ? यसको उत्तर शरणार्थीहरुलाई थाहा छ । एक गिलास पानीको मूल्य कति हुन्छ ? मरुभूमिमा धापिएको व्यक्तिले भन्न सक्छ । मानिस आउनु जानु प्रक्रिया हो । मृत्यूका अगाडि एक्लो सत्य भएर उभिन्छु भन्नु भ्रम शिवाय केही होइन । गल्ती गर्नु जति निरपराध हो, गल्ती दोहोर्याउनु चाहिँ अक्षम्य अपराध हो । अब त गल्तीका पनि धेरै चाङ लागिसके । खाल-खालका प्रयोगले देश छिद्र भइसक्यो । भो अब दाउपेच बन्द गरौं । धेरै हदसम्म देश चलाउने मियो बनेको राजनीति सङ्लिनु पर्छ । त्यसपछि चिन्ता हैन, चिन्तनको सुन्दर बीउ तमाम देशबासीमा छर्नुपर्छ । एकरातमा एउटा नाइट बसले छिचोल्ने सानो मुलुक बन्न कतिबेर लाग्छ र ? कसैले बनाउन सक्दैन भने उसलाई भत्काउने अधिकार पनि त हुँदैन । यसका लागि आफूबाहेक सबै बेठीकको मानसिकता भने जरैदेखि उखेलेर मिल्काउन जरुरी छ । नविर्सौ देश बनाउनु भनेको उच्च मनबोलको बृद्धि हो । उत्साह बिना संसारमा कहाँ पो विकास भएको छ र ? त्यसपछि मात्र बसुधैव कुटुम्बकम्को भावना सार्थक हुनपुग्छ । ***