आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारबाहिर एउटा आत्मघाती बम विस्फोट गराइएको पुष्टि भएको छ । पेन्टागनका प्रवक्ता जोन किर्बीले विस्फोटमा भएका हताहतीको यकिन सङ्ख्या स्पष्ट हुन नसकेको बताएका छन् ।

तर हताहत हुनेहरूमा आफ्ना नागरिक पनि परेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । ब्रिटिश रक्षा मन्त्रालय स्रोतले विस्फोटमा यूकेको कोही सैनिक परेको खबर आफूहरूले नपाएको जनाएको छ । एक तालिबान अधिकारीले भने कम्तीमा ११ जनाको मृत्यु भएको बताएका छन् । तर त्यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

अमेरिकी उद्धार
विस्फोटमा थुप्रै तालिबान सुरक्षागार्डहरू पनि घाइते भएको उनले बताए । विमानस्थलबाहिर अझै गोली चलेको आवाज सुन्न सकिने केही रिपोर्टहरूमा जनाइएको छ ।

हमला हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन विस्फोटको घटना भएको छ । पश्चिमा मुलुकहरूले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा आतङ्कवादी हमला हुन सक्ने भन्दै सचेत गराएका छन् । उद्धारको आशामा विमानस्थलमा अझै हजारौँ मानिस कुरिरहेका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार बुधवार करिब साढे १३ हजार मानिसलाई उद्धार गरिएको छ । योसँगै अमेरिका र उसका साझेदारहरूले अगस्ट १४ तारिखयता उद्धार गरेका मानिसहरूको सङ्ख्या ९५ हजार सात सय पुगेको छ ।

तपाईको प्रतिक्रिया