आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – तालिबानले अफगानिस्तानका सरकारी कर्मचारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । सत्ता कब्जापछि मंगलबार सो समूहले अफगान नागरिक र विदेशीहरुलाई पनि काम गर्न दिइने बताएको हो ।

‘सबैका लागि आममाफी घोषणा गरिएको छ । त्यसैले सबैले पूर्ण आत्मविश्वासका साथ नियमित जीवन सुरु गर्नुस्,’ तालिबानले भनेको छ । त्यस्तै तालिबानले महिलाहरुलाई समेत सरकारमा सहभागी गराइने बताएको छ । मंगलबारदेखि काबुलमा जनजीवन केही हदसम्म सामान्य देखिएको छ ।

अफगानिस्तानको प्रमुख टेलिभिजन न्युज च्यानल तोलो न्युजले महिला समाचारवाचकसहित प्रसारण सुरु गरेको छ । यस्तै तालिवानले आफ्ना लडाकुहरुलाई नागरिकको घरमा नपस्न निर्देशन दिएको छ । विशेष गरी काबुल क्षेत्रमा नागरिकको घरमा नपस्न निर्देशन दिइएको जनाइएको छ ।

सडकमा ट्राफिक प्रहरी देखिएका छन् भने नर्स तथा डाक्टर काममा जान थालेका छन् । तालिबानले जनजीवन सामान्य बनाउन मानिसलाई आश्वस्त तुल्याउन खोजे पनि ब्यांक, बजार र सरकारी कार्यालय बन्द छन् ।

अर्कोतिर हतियारधारी सशस्त्र समूहले युद्ध सुरु गर्ने सम्भावना पनि छ । असरफ गनीका उपराष्ट्रपति अमरुल्लाह सलेह पान्सिर क्षेत्रतिर लागेका छन् । त्यो पहाडी क्षेत्र तालिबान विरोधी गढका रुपमा परिचित छ । त्यहाँ उनले अलकायदाले २००१ मा हत्या गरेको एक युद्ध सरदारका छोरा अहमद मसुदसँग गठबन्धन गरेका छन् ।

तपाईको प्रतिक्रिया