शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडाैं – उज्बेकिस्तानको रक्षा मन्त्रालयले आफ्नो सीमा उल्लङ्घन गरेको एउटा अफगान सैन्य विमानलाई हवाई प्रतिरक्षा बलले खसालिदिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ताका अनुसार उक्त विमानले गैरकानुनी रूपमा उक्त मध्यएशियाली राष्ट्रको हवाई क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको थियो । उक्त विमानमा कति जना सवार थिए वा कोही जीवित छन् कि छैनन् भन्ने कुरा उनले खुलाएनन् ।

अफगानिस्तानको सीमामा रहेको दक्षिणी प्रान्त सुखन्दारियोका एक चिकित्सकले अफगान सेनाको पोसाक लगाएका दुई बिरामी आइतवार साँझ भर्ना गरिएको बताएका छन् । तीमध्ये एक जनासँग प्याराशुट रहेको र उनको हाड भाँच्चिएको जानकारी ती चिकित्सकले दिए ।

आइतवार उज्बेकिस्तानका निकायहरूले सीमा पार गरेका कारण ८४ अफगान सैन्य अधिकारीलाई पक्राउ गरिएको जनाएका छन् । अफगानिस्तानको राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएसँगै त्यहाँ अस्थिरता बढेको बताइएको छ ।

मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम गरेपछि तालिबान लडाकुहरू आइतवार राजधानी काबुल प्रवेश गरेका थिए । उनीहरूले सोही दिन राष्ट्रपति भवनलाई पनि आफ्नो नियन्त्रणमा लिएका थिए । अफगान राष्ट्रपति अशरफ गनी तथा अन्य केही वरिष्ठ अधिकारीहरू देश छोडेर अन्यत्र पलायन भएपछि त्यहाँ शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया