शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडाैं – अफगानिस्तानमा तालिबानले सत्ता हात पारेपछि चीनले आफ्नो प्रतिक्रिया दिएको छ । पहिल्यैदेखि तालिबानलाई समर्थन गर्दै आएको चीनले तालिबानको सत्ता कब्जालाई पनि समर्थन गरेको छ ।

एक पत्रकार सम्मेलनको आयोजना गर्दै चीनले अफगानी जनताको इच्छा र छनोटको सम्मान गर्ने बताएको छ । यससँगै तालिबानको सरकारलाई चीनले समर्थन दिएको बुझिन्छ । यद्यपि यूरोपियन र अमेरिकाले भने यसलाई अतिवादको संज्ञा दिएका छन् । उनीहरुले तालिबानको सत्तारोहणसँगै अब अफगानिस्तानमा मानवअधिकारको अन्धकारमय युग सुरु भएको टिप्पणी गरेका छन् ।

तर, चीनले भने तालिबानी सरकारको समर्थन गर्दै आफूहरु अफगानी जनताको पक्षमा रहेको बताएको छ । चिनियाँ परराष्ट्र प्रवक्ता ह्वा छुन यिङले भनेकी छिन्, ‘अफगानिस्तानको ४ दशक लामो युद्ध स्थगित भएर शान्ति प्राप्त होओस् भन्ने चाहना ३ करोड भन्दा बढी अफगानी मात्रै नभएर अन्तर्राष्ट्रिय समुदाय, क्षेत्र र देशहरूको रहेको थियो ।’

आइतबार अफगानिस्तानमा तालिबानले युद्धको अन्त्य भएको र समावेशी तथा खुला इस्लामिक सरकार गठनका साथै जनताको सुरक्षाको जिम्मा लिने तालिवानी नेताहरूको भनाइमा आफूले ध्यान दिएको पनि प्रवक्ता ह्वाले बताइन् । उनले अघि भनिन्, ‘यी भनाइहरूको कार्यान्वयन हुने र स्थितिको शान्तिपूर्ण रूपान्तरण तथा सबै प्रकारका अपराध तथा आतंकवादको अन्त्य हुनेमा चीन आशावादी छ।’

तपाईको प्रतिक्रिया