आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडाैं – अफगानिस्तानका अधिकारीहरूलाई उद्धृत गरिएका विवरणहरूमा राष्ट्रपति अशरफ गनीले देश छोडेको जनाइएको छ । तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो ।

अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ । दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानको नियन्त्रणमा पुगेको अवस्थामा गनी राजीनामा दिनुपर्ने दबावमा थिए । यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो ।

यसअघि तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो । आइतवार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो ।

राष्ट्रपतिको कार्यालयले पाश्तो भाषामा गरेको ट्वीटमा लेखिएको छः ‘काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन । सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ ।’

केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन् । तालिबान काबुल आइपुगेपछि आइतबार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिएको थियो ।

तपाईको प्रतिक्रिया