आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडाैं – अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तालिबानलाई सत्ता सुम्पिन तयार भएका छन् । आइतबार दिउँसो एक भिडियो सार्वजनिक गर्दै सरकारको तर्फबाट कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले सत्ता हस्तान्तरण शान्तिपूर्ण रुपमा हुने जनाएका छन् ।

उनले अब अन्तरिम सरकार गठन हुने बताए । उनले भिडियोमा भनेका छन्, ‘काबुलमा कुनै पनि प्रकारको हिंसा हुने छैन । तालिबानले आफ्ना लडाकूहरुलाई काबुल प्रवेशमा रोक लगाउन आदेश दिए संक्रमणकालीन सरकारलाई ‘शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण’ गरिनेछ ।’

शनिबार मात्र राष्ट्रपति घानीले जनतामाथि ‘युद्धको भार थप्न नदिने’ बताएका थिए । टेलिभिजनमार्फत एक रेकर्डेड सन्देश सार्वजनिक गर्दै घानीले अफगानिस्तानले पछिल्ला २० वर्षमा जे हाँसिल गरेको छ, त्यो उपलब्धि हराउन नदिने बताएका थिए । ‘हामी अफगानिस्तानको थप हत्यालाई अनुमति दिने छैनौं, न त हामी सार्वजनिक सम्पत्तिलाई थप विनाश गर्न दिनेछौ’, उनले भनेका थिए । राष्ट्रपतिले अफगानी जनताहरू आफ्नो भविष्यको लागि चिन्तित रहेको बताएका छन् ।

शनिबार दिउँसो सरकारी टेलिभिजन मार्फत देशलाई सम्बोधनका क्रममा पदबाट राजीनामा गर्ने अनुमान पनि चलिरहेको थियो । तर उनले राजीनामा दिएनन् । उक्त भिडियो सन्देश सार्वजनिक गरेको २४ घण्टा नबित्दै तालिबानले काबुलको चारैतर्फ घेरिसकेका छन्।  तालिबानका लडाकु शहरभित्र पुगिसकेको बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया