महासेठ विदेशबाट अलिकति पढे लेखेर र पैसा कमाएर गाउँमा फर्केका थिए । त्यो गाउँमा धेरै पढे लेखेका मान्छेहरू प्रायः नबस्ने हुनाले महासेठको राम्रै इज्जत र मान प्रतिष्ठा थियो । महासेठका छोरा थिएनन् ! त्यसैले पनि महासेठ कसैलाई मान्छे गन्दैनन् थे ।
सोहि गाउँमा अर्की एक विदुषी सितादेवी पनि बस्दथिन् । सितादेवी पनि राम्रै पढे लेखेकी र कुल घरानकी छोरी थिइन् । कलिलै उमेरमा उनी पनि विदेश पसेकीले उनलाई त्यो गाउँको चाल चलन खासै थाहा थिएन । बाहिर धेरै हिंडडुल गर्न नरूचाउने उनी जिविकोपार्जनका लागि एउटा विद्यालयमा पढाएर राम्रैसँग बसोबास गरिरहेकी थिइन् । सितादेवीले आफ्ना सन्तानलाई पढ़ाई/लेखाई आफू जस्तै सक्षम र सबल बनाउन चाहन्थिन् । घरका अरू परिवारले सितादेवीलाई बाहिर गएर काम गरेको खासै मन पराउँदैनथे तर, ससुरा बुज्झकी भएकाले सबैलाई ‘होस् न त बिचराको पनि आफ्नो जीवन जिउने अधिकार छ पढे लेखेकी छे, काम गर्न देओ,’ भनेर थामथुम पार्थे ।
सासू, नन्द र घरका अरू भने आफू भन्दा पढे लेखेकी र स्मार्ट बुहारी आएकोमा त्यति खुशी थिएनन् । श्रीमानको तलबबाट छोराछोरीलाई राम्रै शिक्षादीक्षा दिन र खान पुगिहाल्छ । बुहारीले बाहिर नगई घरधन्दा गरी घरैमा बसोस् भन्ठान्थे । जतिसुकै पढेलेखेका र असल सासू-ससुरा भए पनि समाजमा बसेपछि छोरी र बुहारीमा अलिकति फरक सम्झने त संसारको नियम नै रहेछ भनेर सितादेवी कहिले काहीँ गुनासो गर्थिन । तर उनी आफू बुद्धिमान भएकोले हरेक तरहले गाउँलेको मद्धत गरिराख्थिन् । फुर्सदको समयमा छिमेकीका बाल बच्चालाई अंग्रेजी पढाईदिने होस् या ट्युसन पढाईदिने र अनेक तरहले समाज सेवा गर्ने कोसिस गरी रहन्थिन् ।
यतिकैमा गाउँमा चुनाव आइपुग्यो । महासेठलाई नै गाउँलेहरूले निर्वाचन आयुक्त राख्ने निधो गरे । महासेठले पनि आफू नै सबैभन्दा बुद्धिमान छु भन्ने घमण्ड गर्दै गाउँलेका कुरामा सहमत जनाए । पहिला पनि एक दुई पल्ट विवादित नै भए पनि महासेठले चुनाव सम्पन्न गराइसकेका थिए । तर यो पल्ट भने बदलिँदो समाजको परिस्थिति बुझी महासेठले सितादेवीलाई पनि चुनावमा बसेर सहयोग गर्न र लैङ्गिक समानताको झुटो आश्वासन देखाएर गाउँलेको नजरमा हिरो बन्ने अभिप्राय देखाए । सितादेवीलाई पनि सहयोग गरी निर्वाचनमा बसेर निष्पक्ष निर्वाचन गराउन मन लाग्यो र उनसे आग्रह स्वीकार गरिन् ।
सितादेवीलाई महासेठको कुरा विश्वास गरेर हेर्न मन थियो । उनले चुनावमा अधिकृत बसिदिने अनुरोध स्वीकार गरिन् । महासेठले सितावेवीलाई आदर नै गरेर बोल्थे तपाईं हामीले समाज परिवर्तन गर्नुपर्छ बुझ्नुभो भन्थे । बाटोमा भेटे पनि तारिफ नै गर्थे। सितादेवीले भने महासेठको कुरा भित्र–भित्रै गाइँगुइँ सुन्दै आएकी थिइन् । महासेठ जहिले पनि राजनीतिक खोल ओढेर गाउँलेहरूलाई पङ्गु बनाउँछन र पैसा खाएर विरोधिलाई जिताई दिन्छन् रे भन्ने कुरा गाउँमा हल्ला चलेको थियो र यो कुरा सितादेवीको पनि कानसम्म आइपुगेको थियो । तर यसपटक गाउँलेहरू सचेत भइसका होलान् अब पनि महासेठले यस्तो गर्न सक्छन् होला र ? भन्ने सोचेकी थिइनन् । उनलाई त्यो महासेठको कुरा आफैं बुझ्न पनि मन थियो । त्यसैले निष्पक्ष चुनाव गराएर देखाउने प्रण सितादेवीले मनमनै गरिन् १ महासेठको चुनावी रणनीति कसैले पनि बुझ्न सकेका थिएनन् ! अब त यस्तो नगर्लान् कि जस्तो लागेको थियो त्यसैले चुनावमा सहयोग गर्ने कुरामा सहमत भएकी थिइन् ।
तर, अब त चुनाव पनि सकियो नतिजा उहि सोचेको भन्दा उल्टो आयो । यसपटक पनि विपक्षीको पैसामा विकेर उल्टो नतिजा ल्याउनमा कुटिल महासेठ सफल भए । शहरको कुनै ठूलो होटलको एउटा बैठक कक्षमा बसेर २० लाखको लेनदेन भएको रे भनेर ठूलै हल्ला फैलियो । तर महासेठलाई पैसा दिने र नतिजा उल्ट्याउन लगाउने दलबल भने गाउँलेहरूका अगाडि छाति फुलाएर हिँड्दैछन् र धाँधली भएको के प्रमाण छ भन्दै जितको लावालस्कर सहित भोज खाँदैछन् । सितादेवीलाई भने शैद्धान्तिक रूपमा हराउन महासेठ सफल भएकाले सितादेवी अत्यन्त खिन्न थिइन् र मनमनै गाउँलेलाई पनि धिक्कार्दै थिइन् !!
गृष्मा पौड्याल
टोकियो -जापान
२०२१/०८/१५