कुनै पनि राष्ट्र आँफैमा सफल र असफल भन्ने हुँदैन यो मेरो निजी मान्यता हो । यसमा तपाईं पाठकहरु सहमत हुन पनि सक्नुहुन्छ, असहमतिका विचारहरू पनि राख्न सक्नुहुनेछ। आफ्नो ब्रहमले देखिएका विचारहरू, आजसम्मका विभिन्न अध्ययनहरू, परदेशका अध्ययन र भोगाइहरुको एकमुष्ठ निचोड पनि यहि हो ।
देश सफल, समृद्ध, विकसित सभ्य हुनलाई त्यस देशका नागरिकहरु सचेत हुनैपर्छ । व्यवस्थापक, नेतृत्व, प्रशासक क्षमतावान हुनैपर्दछ । मानसिक स्खलन भएका नेतृत्व, प्रशासक, व्यवस्थापक, राजनीतिज्ञ देशको प्रशासनिक संयन्त्रमा रहिरहेसम्म त्यो देश आँफैमा सफल, त्यहाँका जनता शिक्षित सम्पन्न र सुरक्षित बन्नै सक्दैन यो इतिहासहरुले बारम्बार प्रमाणित गरिसकेको कुरो हो ।
असफल नेतृत्वले देश असफल र कमजोर बन्छ । कमजोर देशका नागरिकले दासत्व स्वीकार्नुपर्छ । संसारका विभिन्न भूगोलमा रहँदै बस्दै गर्दा पनि । हामी हरेक दिन नेतृत्वलाई गाली गरिरहन्छौं त्यही कमजोर व्यवस्था मुनि रहेरै पनि । आजको शताब्दीमा आईपुग्दासम्म पनि हामी लाजै पचाएर विरोध गरिरहन्छौं नेताले यो ब्राण्डको घडी लगायो, पत्रिकामा लेखिरहन्छौं मन्त्रीले लोइस् भुईटनको जुत्ता लगायो, विदेशी महँगो ब्राण्डको बेडमा निदायो । विदेशी महँगो ब्राण्डको रक्सी मगायो यो त मगन्तेहरुको आँसु चुहाउँने शैलीमा हामी बारम्बार विद्रोह र आक्रोश पोखिरहन्छौं ।
हो संसारका धेरै देशहरूमा केही अपवाद बाहेक उच्च पदमा रहेकाहरुको सुख सुविधा ऐस आराम बढी नै हुन्छ र हुनु पनि पर्छ उनीहरूको योगदान पनि देश र जनताका लागि बढि नै हुन्छ । उच्च ओहदाका पदाधिकारीको योग्यता, क्षमता र कार्यकुशलताले नै त्यो देश सफल बन्ने हो । ‘जसले मह काढ्छ उसले हात चाट्छ’ यसमा दुई मत हुनै सक्दैन तर, फरक यति हो अरूले काढीदिएको महमा हात चोबेर मैले नै मह झिकेको हुँ भन्दै हात चाट्नु चैं गलत परम्परा हो गलत मान्यता हो र संस्कार पनि गलत हो ।
आजको विश्वमा मानिस भगवान बन्न सक्दैन यो होईन कि भगवानहरु गलत नै गर्दैनथे या गलत नै थिएनन् । सत्यको पक्षमा रहन्थे हुन्थ्यो त्यति मात्रै । संसारका जति सुकै विकसित मुलुक भए पनि भ्रष्टाचार हुँदै नहुने, अनियमितता हुँदै नहुने, गलत नै नगर्ने भन्ने होइन। जुन देशमा राज्यद्वारा आफ्ना नागरिकहरुलाई समान अवसरहरू दिलाएको, स्वास्थ्य शिक्षा रोजगार सबै नागरिकहरुको पहुँचमा छ । त्यस देशमा सरकारका साना तिना सुख सुविधा, ऐस आराम, मोजमस्तीमा नागरिकहरुले कुनै आवाज उठाउँदैनन् र चासो र बिद्रोह पनि गर्दैनन् पनि ।
विगतका वर्षहरूमा देखि म जुन देशमा रहँदै आइरहेको छु या मेरो यो वर्षौंको भोगाई र अनुभवले के प्रमाणित गर्दछ भने राज्यका उच्च ओहोदाका व्यक्तिहरूको जीवनशैली माथि नागरिकहरु तब मात्रै औंला तेर्स्याउँछन्, प्रश्न खडा गर्छन, शंका उठाउँछन् विद्रोहका स्वरहरु सडकहरुमा उचाल्छन् बुझ्नुहोस् त्यो देशमा शासक स्वेच्छाचारि छ नागरिक पिडामा छन् जनताहरुले अवसरहरु पाएका छैनन् ।
राज्यद्वारा यदि आफ्ना नागरिकहरुमा आधारभूत आवश्यकताहरु पूरा हुन्छ भने शासकका जीवनशैलीमा नागरिकहरुको खासै गहिरो निगरानी हुदैन रहेछ पनि । नागरिकहरु पीडामा छटपटाइरहँदा, अभावमा पिरोलिरहँदा राज्य छ भन्ने आभास दिलाउन सके नेताका जुत्ता, सुट, टोपी र जीवनशैलीमा आवाज नउठ्ने रहेछ ।
देशका पछिल्ला केही घटनाहरु यिनै असमानताका आवाजहरु हुन्, अभावका स्वरहरु हुन्, पीडाका छट्पटाहट हुन् । अब यस्ता आवाजहरु सुनिनु भनेको नेतृत्वका असक्षमता हो, मनोमानी स्वेच्छाचारी हो । अब यस्ता कदमहरु नागरिकहरुलाई मान्य हुनै सक्दैन, नागरिक र नेतृत्वमा यस्तो असमान खाडल देखिनुहुन्न पनि । सर्वे भवन तु सुखिनः !
- मोहनप्रसाद खतिवडा -टोकियो, जापान