काठमाडौं — टोकियो ओलम्पिक अन्तर्गत १३ औं दिन आज १२ खेलबाट २७ वटा स्वर्ण पदकको छिनोफानो हुने छ । जसमा एथ्लेटिक्समा सर्वाधिक धेरै स्वर्णको छिनोफानो लाग्ने छ ।
एथ्लेटिक्सको पुरुष ट्रिपल जम्प, शटपुट, ११० मिटर हर्डल्स, २० किलोमिटर रेस वाक, ४०० मिटर र डेकाथोलन तथा महिलातर्फ पोलभल्ट र हेप्टाथोलनमा स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।
त्यसैगरी बक्सिङ तर्फ पुरुष फिदरमा फाइनल खेल हुनेछ । क्यानोई स्प्रिन्टतर्फ पुरुष के–वान २०० मिटर, महिला सी–वान २०० मिटर, महिला के–वान ५०० मिटर र पुरुष के–टू १००० मिटरमा स्वर्णको प्रतिस्पर्धा हुनेछ ।
डाइभिङमा महिला १० मिटर प्ल्याटफर्म, पुरुष हकी, कराँते महिला काता, महिला कुमुते ५५ केजीमूनि र पुरुषतर्फ ६७ केजीमूनिको फाइनल आजै हुँदैछ । पुरुषको म्याराथन पौडी, स्केटबोर्डिङमा पुरुष पार्क, स्पोर्ट क्लाइम्बिङमा पुरुषतर्फको फाइनल पनि आज हुनेछ ।
टेवल टेनिसको महिला टिम तथा कुस्तीको महिला तर्फ ५७ केजी र पुरुषतर्फ ५७ र ८६ केजीको फाइनल स्पर्धा आज हुनेछ । पदक तालिकामा चीन अहिले शीर्ष स्थानमा यथावत रहेको छ । चीनले अहिलेसम्म ३२ स्वर्ण पदक जित्दा २२ रजत र १८ कास्य पदकसहित कुल ७० पदक जितेको छ । चीनले बुधबार एक मात्र पदक जित्न सफल भयो ।
यसैगरी अमेरिकाले १२ औं दिनमा पाँच वटा पदक थप्न सफल भएको थियो । कुल ७९ पदक जितेको अमेरिकाले बुधबार एउटा स्वर्ण पदक जित्दा थप तीन रजत र दुई कास्य पदक जितेको छ ।
तेस्रो स्थानमा रहेको आयोजक जापानले बुधबार २ वटा स्वर्ण पदक जितेको छ ।
मंगलबार १९ स्वर्ण पदक जितेको जापानले बुधबार स्वर्ण पदक संख्या जापानले २१ पुर्याएको छ । यसैगरी जापानले एक रजत र एक कास्य पदक थपेको छ । जापानले दशौं दिनसम्म ७ रजत र १२ कास्य पदक बनाएको छ ।
चौथो स्थानमा रहेको गे्रट ब्रिटेनले १५ स्वर्ण पदक जित्दा १८ रजत र १५ कास्य पदक जितेको छ । पाँचौं स्थानमा रहेको अस्ट्रेलियाले पनि समान १५ स्वर्ण पदक जित्दा ४ रजत र १७ कास्य पदक जितेको छ । जारी ओलम्पिकमा ५७ देशले स्वर्ण पदक जित्दा ७९ देशले पदक तालिकामा नाम लेखाउन सफल भएका छन् ।