Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । निर्वाचन निष्पक्ष नभएको भन्दै धेरै उम्मेदवारले उजुरी दिएका छन् भने जापानवासी नेपालीमा पनि संशय पैदा गराइदिएको छ ।

रमेश बाबु घिमिरे निर्वाचनताकाको क्रियाकलापले निर्वाचनमा धाँधली भएको सहजै अनुमान गर्न सकिने बताउँछन् । उनी स्वार्थको लागि गरिएका यस्ता अराजक तमासाले संस्थाको बदनाम मात्र गरेको टिप्पणी गर्छन् । ‘काहीँ माथिल्लो तहले नै भोलिको लागी यो बाटो त तयार पारेको होईन, यो पनि रहस्य पूर्णनै छ,’ उनी प्रश्न गर्छन् । एनआरएनए जापान र भर्खरै सम्पन्न निर्वाचबारे उनको धारणा जस्ताको त्यस्तै…

एनआरएनए संस्था आफैमा पवित्र संस्था हो । नेपाली-नेपालीको सदभाव तथा भाईचारामा आत्मीयता सुनिश्चित गरी सेवा, विकास र समृद्धिको मूल प्रवाहमा एनआरएनएको भूमिका अति नै अग्रस्थानमा छ । देश र समाजको हितलाई ध्यानमा राख्दै, समाजका लागी परिवर्तन गर्न सक्ने शिक्षित र जागरूक व्यक्तिहरुलाई नै संस्था संचालनको लागि अग्रसर गराईन्छ । अग्रसर उम्मेदवारहरु पद संख्या भन्दा वढी भएमा ऊनीहरुको व्यवस्थापनको लागि निर्वाचन गराईन्छ ।

यही व्यवस्थापनको क्रममा एनआरएनएको चुनावी प्रक्रिया पनि केही समय अगाडि सम्पन्न भएको छ । हरेक संस्थामा निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र छडीको रुपमा हेरिएता पनि गैर आवासीय नेपाली संघ जापानको जुलाई ३० तारिखको निर्वाचनले भने अहिले विश्वका एनआरएनको ध्यान केन्द्रित गराएको छ । जापानको परिणामलाई न कसैले स्वीकारेको अवस्था छ न निर्वाचित सदस्यहरु नै जितप्रति उत्साहित देखिएका छन् । निर्वाचनको परिणामप्रति असन्तुष्टि र धाँधली भएको भन्दै २९ उम्मेदवारले उजुरी दिएका छन् भने असन्तुष्टि पोखेर निर्वाचन बदरको माग पनि गरेका छन् ।

  • यसै घटनाक्रमलाई नजिकबाट निहाल्ने प्रयास गरेको छु ।

१. ट्रायल मतदान जुलाई १३ र १४ मा गरिदा १२५७ को मतपत्र सीस्टमले रिजेक्ट गरेको र त्यसैक्रममा भोटर सदस्यहरूमध्ये कोही भोटरहरुको ईमेलमा मतपत्र नगएको भन्ने थाहा हुन्छ । यसैक्रममा १,७०० जना मतदाताहरूको ईमेल ठेगाना परिवर्तन भएको सूचना जारी गर्दै मतदाताहरूलाई ईमेल ठेगाना सच्याउन लगाई मतदान अधिकारको उपयोग गर्न सूचित गरिन्छ ।

२. निर्वाचन अध्यक्ष मण्डल, अनुगमन समिति, सदस्यता छानविन समिति तथा केही पदाधिकारीको आन्तरिक छलफलसँगै नेपालको सिस्टम डिप्लोभर सगको बहसले गिरोहको सक्रियतामा ३००० भन्दा बढी इमेल परिवर्तन भई सकेको जानकारी पत्ता लाग्छ । यो दुई महिनाको समय अवधिमा परिवर्तन गरिएको पाईन्छ । तर निष्कर्ष तथा समाधानको निचोड केही देखिदैन ।

३. निर्वाचन समितिले उम्मेदवारलाई निर्वाचनको पूर्व सन्ध्यामा ई–भोटिंग सिस्टमको जानकारी गराउँदा, उम्मेदवार मात्र जोडिनु पर्नेमा उम्मेदवार फिर्ता लिइसकेको व्यक्ति पनि समेल गराउनूले केही प्रश्न चिन्ह खडा गरेको पाईंन्छ ।

४. उम्मेदवारहरुलाई अन्योलमा राखी कुनै सूचना प्रवाह नगर्नु र २४ तारिख रातारात केन्द्रिय सदस्यहरुको मिटिंग भन्दै मतपत्रमा भएको त्रुटि देखाई जुलाई २७ तारिखको निर्वाचनलाई ३० तारिखमा सार्नु पनि रहस्यमय देखिन्छ ।

५. असन्तुष्ट उम्मेदवारले हेरफेर भएको इमेल आईडीको समधान नभई निर्वाचनमा नजाने भनेपछि देखिने सम्भावित लफडालाई समाधान गर्न अध्यक्ष मण्डल र अनुगमन समितिले ३० तारिख सम्ममा यसको समाधान हुने र केही भए यसको जिम्मा लिने भन्दै उम्मेदवारलाई निर्वाचनमा होमाएको देखिन्छ ।

‘३० तारिख निर्वाचनको आधिकारीक रिजल्ट आए पनि निर्वाचन अवैधानिक र नियोजित रुपमा गरिएको षड्यन्त्र भन्दै २९ जना असन्तुष्ट उम्मेदवारले निर्वाचन अध्यक्ष मण्डल र अनुगमन समितिलाई निष्पक्ष छानबिनको लागि निवेदन दर्ता गराउँछन् । दर्तासँगै निर्वाचनमा भारतको उडिसा राज्यबाट ४०२ मत काठमाडौं, पोखराबाट करिब २÷३ सय हाराहारीमा लगायत जापानको विभिन्न क्षेत्रबाट अवैधानिक मत खसेको प्रमाण पनि पेश गरिन्छ । निर्वाचन समितिले पनि आफ्नो धारणा व्ययक्त गर्दै विदेशको IP Address भनेर देखिने मतहरू कहाँबाट गरिएको हो भन्ने थाहा नदिन चलाखीपूर्ण तरिकाले VPN -Virtual Private Network को प्रयोग गरि खसालिएको र निर्वाचन समितिसँग यी मतहरूसँग सम्बन्धित मतदाताहरूको विवरण (नाम, सदस्यता आइडी आदि) सुरक्षित रहेको छ भनेर सूचना प्रकाशन गर्दछ ।’

६. २९ जना असन्तुष्ट उम्मेदवारले छानबिनको लागि निवेदन दर्ता गराएको निवेदन के थियो भन्ने पनि नहेरी कुनै पनि प्रतिक्रिया नजनाएर अध्यक्ष मण्डलले आत्तिदै यसको छानबिन गर्ने र सत्यकुरा प्रकाशनमा ल्याउने भनेर विज्ञप्ति प्रकाशन गर्दछ ।

यस बिचमा भएको हरेक क्रियाकलापलाई नियाल्दा निर्वाचनमा धाँधली भएको निष्कर्ष सहजै निकाल्न सकिन्छ । समय, सही सूचना र त्यस्को समाधान को बाटो धेरै हुँदा हुँदै पनि कसले, कसको लागि यो परिणाम निकालेको छ त्यो भने अन्धाकारको भुत जस्तै देखिएको छ । न अग्रजको कुनै भूमिका छ नत प्रयास नै ।

जापानमा एनआरएनएले समाजको परिवर्तनको लागि निस्वार्थ समाज सेवामा होमिने सम्पूर्णलाई स्वागत गर्न आतुर हुने भन्दा पनि स्वार्थको लागि गरिएका यस्ता अराजक तमासाले संस्थाको बदनाम मात्र गरेको छ । इतिहास सँधै बलको भरमा लेखिन्छ । कहिल्यै पनि कमजोर र पीडितको दस्तावेज लेखिँदैन भनिन्छ । काहीँ माथिल्लो तहले नै भोलिको लागि यो बाटो त तयार पारेको होईन ? यो पनि रहस्य पूर्णनै छ ।

प्रत्येक पंजीकृत सदस्यहरुलाई पङ्गु बनाएर खर्चभार जगजाहेर गरेर कसले के पायो ? हामी हाम्रो साझा संगठनलाई आर्थिक भन्दा पनि भावना, अनुशासन र पद्दतीद्वारा नेतृत्व गर्ने बानीको विकास गरौं । समाज सेवाको नाममा शोषणको कमाईबाट उत्साहित भएर त्यस्को केही प्रतिशत समाज सेवा गर्दैमा के त्यो सेवाले समाजलाई न्याय देला त ? सेवाको डङ्काको नारा पिट्दै राजनीति र स्वार्थको लडाई नगरौं ।

जय एनआरएनए
रमेश बाबु घिमिरे
ओसाका

तपाईको प्रतिक्रिया