काठमाडौं – नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले आफूले उपयुक्त अवसर पाए राजनीतिमा समेत आउन सक्ने बताएका छन् । तर, क्रिकेट व्यवस्थापन भए मात्रै त्यसका लागि आफूले सोच्ने पारसको भनाइ छ ।
आज (बुधबार) पत्रकार सम्मेलन गर्दै पूर्व कप्तान खड्काले सही राजनीतिले संस्थालाई अगाडि बढाउन सके आफू त्यसमा सकारात्मक भएको बताए । खड्काले एक महिनाभित्र आफूले आफ्नो क्रिकेट एकेडेमी समेत सञ्चालनमा ल्याउन लागेको बताए । उनले आफू क्रिकेटको व्यवस्थापनमा आउन चाहेको बताएका छन् । उनले सबैको सहयोग र मिहिनेतले नेपाली क्रिकेट अहिलेको अवस्थासम्म आइपुगेको बताए ।
मेरो जीवनकालमै नेपाल टेस्ट राष्ट्र बनोस् भन्ने चाहना छ
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पूर्व कप्तान खड्काले आफ्नो जीवनकालमा नेपालले टेस्ट मान्यता प्राप्त गरोस् भन्ने चाहना रहेको बताएका छन् ।
खड्काले नेपाललाई टेस्ट राष्ट्रको रुपमा हेर्न चाहेको बताए । उनले भने, ‘सन् २००५ मै नेपालले एक दिवसीय मान्यता पाएको भए म पनि अहिलेसम्म टेस्ट खेल्थें होला । तर, त्यसो भएन । मेरो अनफिल्ड जर्नी मात्रै सकिएको हो ।’