काठमाडौं – युरो कप अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले जित हात पारेको छ । डेनमार्कमाथि २–१ को जित निकाल्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ ।
डेनमार्कको पार्किन रंगशालामा भएको खेलमा डेनमार्कले खेलको सुरुमै अग्रता बनाएको थियो । फरवार्ड युसुफ पाउलसेनले दोस्रो मिनेटमै गोल गरेर बेल्जियमलाई पछि पारेका थिए ।
पहिलो हाफमा डेनमार्कले अग्रता जोगिएको थियो । दोस्रो हाफको ५४औँ मिनेटमा थोर्गन हाजार्डले गोल गरेपछि बेल्जियम खेलमा फर्कियो । ७०औँ मिनेटमा केभिन ब्रुयनले बेल्जियमका लागि अर्काे गोल गर्दा बेल्जियम विजयी भयो । दोस्रो गोलका लागि रोमेरो लुकाकुले सहयोग गरेका थिए ।
जितसँगै समूह बी बाट बेल्जियम नकआउट चरणमा प्रवेश गरेको छ । अघिल्लो खेलमा फिनल्याण्डसँग पराजित भएको डेनमार्क अंकबिहीन छ ।
पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो ।