मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौं – भियतनामले कोरोनाभाइरसको नयाँ भेरिअन्ट पहिचान गरेको छ जुन भारतीय तथा यूके भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन् ।

भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई ‘निकै खतरनाक’ बताएका छन् । भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरिअन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप सङ्क्रामक बनाउँछन् । सन् २०२० को ज्यानुअरीमा पहिलो पटक कोभिड-१९ पहिचान भएयता हजारौँ उत्परिवर्तनहरू भएका छन्।

भियतनामका स्वास्थ्यमन्त्रीले के भने ?
स्वास्थ्यमन्त्री गुयनले भने- ‘भियतनामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरिअन्टको मिश्रित गुणहरू सहितको नयाँ कोभिड-१९ को भेरिअन्ट देखेको छ ।’

उनले नयाँ ठिमाहा भेरिअन्ट यसअघिका संस्करणमा देखा परेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए । अनलाइन पत्रिका भीएनएक्सप्रेसका अनुसार उनले हालै देखा परेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरिअन्ट देखिएको स्वास्थ्यमन्त्री गुयनले बताएका थिए । उनले भाइरसको यस भेरिअन्टको ‘वंशाणुगत सङ्केत’ छिट्टै उपलब्ध गराइने बताएका छन् ।

अन्य प्रकार
गत वर्षको अक्टोबरमा पहिलो पटक भारतमा देखा परेको बी.१.६१७.२ भेरिअन्ट यूके/केन्ट भेरिअन्ट (बी.१.१.७) भन्दा निकै सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन् ।

अध्ययनहरूले फाइजर र आस्ट्राजेनेकाजस्ता खोपहरू दुई खेप लगाउँदा त्यसको असर भारतीय भेरिअन्टविरुद्ध निकै प्रभावकारी पाइएको बताएका छन् । खोपको एउटा मात्र मात्राबाट हुने सुरक्षा भने कम पाइएको छ । निकै धेरै मानिसहरूमा उत्परिवर्तन भएका भाइरसहरूले निकै गम्भीर बिमारी निम्त्याउने कुराको कुनै प्रमाण भेटिएको छैन ।

तपाईको प्रतिक्रिया