Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

नर्वेकी प्रधानमन्त्री एर्ना सोलवर्गलाई कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको सामाजिक दूरीको नियम उल्लङ्घन गरेको भन्दै दुई हजार तीन सय डलर जरिवाना गरियो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भने बिहान जात्रा तथा विवाहमा २५ जना र सार्वजनिक स्थानमा पाँच जना बढी जम्मा नहुने निर्णय गरी दिउँसो बालुवाटारमा एक सय बढीको महाधिवेशन तयारी समितिको बैठक र भोलिपल्ट सयौंको संख्यामा सीताराम यात्राको शुभारम्भ गर्दछन् ।

पुनर्निर्मित धरहराको गत शनिबार भएको उद्घाटनसम्म आइपुग्दा पनि त्यस्तै छ । अगुवाले बाटो बिराएपछि आम नागरिकमा कस्तो सन्देश जान्छ भन्ने हेक्का नराख्दा मापदण्ड पनि वर्ग अनुसार फरक फरक भएजस्तो देखिन्छ । भारतमा पछिल्ला दिनमा दैनिक तीन लाख बढी संक्रमित र हजारौं मृत्यू हुँदा नेपालमा पनि संक्रमित जटिलता र मृत्युदर हृवात्तै बढेको छ । पछिल्ला दिनमा संक्रमणको संख्या उकालो लाग्दै गर्दा दैनिक संक्रमण, सक्रिय संक्रमण, सघन उपचारमा भएका बिरामी र भेन्टिलेटरमा रहेका बिरामीको संख्या दर्जनबाट सय गुणाले बढोत्तरी छ । संक्रमितमा ७० प्रतिशत बढी नयाँ भेरियन्ट देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयले सिफारिस गरेका १४ जिल्लाका २५ सहरका शिक्षण संस्था बैशाख महिनाभर बन्द गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तह, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर र इटहरी, धरान, वीरगन्ज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज, धनगढी, वीरेन्द्रनगर, भीमदत्तनगरमा शिक्षणसंस्था बन्द गर्ने निर्णय भए पनि केहिले अटेरी गरेका छन् ।

लक्षित दुई करोड १७ लाख ५६ हजार सात सय ६३ नागरिकमध्ये २० लाखको हाराहारीमा खोप लिइसकेका छन् । पहिलो प्राथमिकताका लागि माघ १४ देखि फागुन १० सम्म तथा दोस्रो प्राथमिकताका पहिलो चरणमा ६५ वर्ष माथिका लागि फागुन २३ देखि चैत्र तीनसम्म चलेको थियो भने ५५ वर्षदेखि ६४ वर्षका लागि अर्थात दोस्रो चरण चैत्र ५ गते सञ्चालन गरिने भनिएको खोप अभियान खोप नभएपछि स्थगित छ ।

यस्तै विशेष चीन जाने वर्ग र ४० देखि ५९ वर्ष उमेरमा चिनियाँ खोप भेरोसेल जारी छ । पहिलो प्राथमिकतामा परेकाहरूलाई दोस्रो मात्रा वैशाख सात गतेदेखि लगाइँदै छ । पहिलो मात्राले बी-एन्टिबडी बनाउने र दोस्रो मात्राले टि सेल- भाइरस चिन्ने र मार्ने एक्टिभेट गरी एन्टिबडी बनाउने भएकाले दोस्रो मात्राको खोपले दीगो एन्टिबडी बनाउँछ । खोप लगाएकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै तीन चौथाईमा संक्रमण नहुने र भएमा पनि जटिल र मृत्यू नहुने तथा अन्यमा संक्रमण सार्ने सम्भावना कम हुन्छ ।

नेपालमा मात्र नभएर विश्वभर नै स्वास्थ्य सेवामा खटिएकालाई सर्बप्रथम खोप लगाइएको छ । स्वास्थ्य सेवामा खटिएका नागरिकलाई पहिलो खोप दिँदा पहिलो ती नागरिकलाई सुरक्षा हुन्छ भने दोस्रो महामारीको अवस्थामा महत्वपूर्ण स्वास्थ्य सेवा सुचारु रहन्छ, तेस्रो बिरामीलाई रोग फैलिने सम्भावना कम हुन्छ । बृध्द नागरिकलाई रोगका कारण ज्यानको खतरा हुने भएकाले सूचीको दोस्रो नम्बरमा छन् ।

जोखिम सूचीमा परेको बाहेक १८ वर्षमुनिका, गर्भवती, स्तनपान गराइरहेका, एचआईभी संक्रमित र प्रतिरोधात्मक क्षमता कम भएका तथा संक्रमण भइसकेको ६ महिना नभएकालाई खोप नलगाउँदा पनि हुन्छ । कोरोना लागेको ६ महिनाभित्र फेरि कोभिड लाग्ने जोखिम नभएकाले साथै एक डोजले प्रतिरोधात्मक क्षमता वृध्दि गरेको र दोस्रो मात्रापछि खासै वृध्दि नभएकाले संक्रमित भइसकेकालाई एक डोज खोप पर्याप्त हुनसक्छ । तथापि अमेरिकाको अध्ययनमा अटोईम्युन रोग र अन्य गम्भीर प्रकृतिका रोगका कारण शरीरमा प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरूमा खोपले एन्टिबडी उत्पादन गर्न नसक्ने वा गरेपनि कम भई रोगबाट बचाउन नसकेको देखिएको छ ।
केही दिनयता संक्रमण बढ्नुमा जिम्मेवार र चर्चामा रहेका बढी संक्रामक बेलायत, ब्राजिल र दक्षिण अफ्रिका तीन भेरियन्ट छन् । तीनै भेरियन्ट भारतमा फैलिसकेकाले नेपाल थप जोखिममा छ । बेलायती स्ट्रेन ७० गुणा छिटो संक्रमण फैलाउने, कम उमेरकामा बढी जटिलताले अस्पतालमा भर्ना हुने र अक्सिजन आवश्यकता बढी पर्ने तथा १ दशमलव ६ घातक छ । अफ्रिकन स्ट्रेन दोब्बर संक्रामक, उपलब्ध खोप निस्क्रियता र घातक छ । नयाँ भेरियन्टहरूको संक्रमणशिलता मात्र हैन, मृत्यृदर बढी छ । भारतमा कोरोना भाइरसको तीब्र गतिमा फैलन सक्ने र रोग प्रतिरोधात्मक क्षमतालाई छल्नसक्ने डबल म्युटेन्ट भेरियन्ट-बी १६१७ भेटिएकोमा हाल महाराष्ट्रमा अर्को परिवर्तित स्वरूप अत्यन्त खतरनाक बेष्ट बंगाल अर्थात ट्रिपल म्युटेन्ट भेरियन्ट बी १६१८ देखिएको छ । डबलमा थप दक्षिण अफ्रिकन म्युटेन्ट थपिएको छ । यो डबल भन्दा अत्यन्तै तीब्र गतिमा फैलन सक्ने, अत्यधिक भाइरल लोड, बालबालिकामा पनि युवाहरूमा जस्तै सर्नसक्ने, धेरै जटिलता बनाउने देखिएको छ । शरीरमा संक्रमण वा खोपले बनेको एन्टिबडीले पनि काम गरेको छैन ।

नयाँ भेरियन्टबाट संक्रमित अस्पताल भर्ना हुनेमा प्रमुख श्वासप्रश्वासमा समस्या रहेको छ । करीब ९० प्रतिशतलाई अक्सिजन आवश्यक परिरहेको छ । वीर, पाटन अस्पतालको अक्सिजन प्लान्ट विगत एक वर्षेदेखि थन्किएका छन् । पोखरा प्रतिष्ठानमा अक्सिजन प्लान्टका लागि चाहिने रकम यथेष्ठ नभएपछि ५ वर्षदेखि बैंकमै छ । धरानको प्रतिष्ठानमा पनि प्लान्ट बिग्रिएको छ । टेकु अस्पतालमा एक वर्षअघि लिक्विड अक्सिजन प्लान्ट जडान भएपनि ग्यास सिध्दिएर खाली भएको छ । देशभर सामान्य अवस्थामा हुने खपत कोभिडले तीन गुणा बढाएको छ । देशभर निजी तथा एक सय २५ सरकारीमा १६ गरी ३० वटा अक्सिजन प्लान्ट छन् । नेपालमा अक्सिजन उत्पादन गर्ने उद्योग २० छन् । अन्य रोगमा ९० तथा कोभिडमा ९४ प्रतिशत कम अक्सिजन भए बाहिरबाट अक्सिजन दिइन्छ । कोभिडमा अक्सिजन थेरापी नै आजसम्मको उत्तम विकल्प हो ।

‘जहाँ भिड त्यहाँ कोभिड’ भन्दै कोभिड १९ उकालो लाग्दा ग्राफलाई मध्यनजर गर्दै सरकारले स्वास्थ्य मापदण्ड पालनासंगै भिडभाड नियन्त्रणमा मुख्य ध्यान केन्द्रित गर्दैछ । सबैले मापदण्ड पालना गरे लकडाउनको अवस्थासम्म पुग्न पर्दैन । गत वर्षजस्तै सबैतिर एउटै रणनीति लगाउने भुल नगरी भिड हुने सहर र नहुने सहर तथा गाउँमा फरक फरक रणनीति अपनाउने नीति छ । कोरोनाबाट शतप्रतिशत जोगिन खोप, बृहत् परीक्षण, बाहिरको शारीरिक दूरी, छरितो र भरपर्दो कन्ट्रयाक्ट ट्रेसिङ, सेल्फ आइसोलेसन, मास्कको अनिवार्य प्रयोग, शारीरिक दूरी, खुला झ्याल र हात धुने तथा अन्य सरसफाई गरी नौ चीजमा ध्यान दिन जरुरी छ ।

(नेपाल सरकारका आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य प्रमुख डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ)

तपाईको प्रतिक्रिया