शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

जनता समाजवादी पार्टी (जसपा) यतिबेला एमाले, कांग्रेस र माओवादी केन्द्रको तानातानमा छ । वर्तमान सरकार टिकाउन तथा नयाँ सरकार गठनका लागि पनि जसपा निर्णायक छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने आश्वाशनका साथ सत्तासाझेदारीको अफर गरिरहेका छन् भने कांग्रेस र माओवादी साथ चाहन्छन् । तर, जसपा आफै अनिर्णित छ, एक धार ओलीसँग नजिकिँदै छ भने अर्काे ओलीसँग होइन, कांग्रेस र माओवादी केन्द्रसँग मिलेर जानुपर्छ भन्ने अडानमा छ । यस्तो अवस्था अब जसपा कहाँ उभिन्छ ? उसको प्राथमिकता के हो ? यिनै विषयमा केन्द्रित रहेर जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको गरिएको सम्पादित अंश :-

सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाले वर्तमान परिस्थितिलाई कसरी नियालिरहेको छ ?
सरकार चलेकै थियो त्यसमा केपी ओलीजीले प्रतिगमन गर्नुभयो । असंवैधानिक रुपमा संसद विघटन गरिदिनुभयो, जो अधिकारकै थिएन । त्यसका विरुद्धमा हामी सबै मिलेर लड्यौँ । यो संविधानबाट हामी सन्तुष्ट छैनौं तर, पनि लोकतान्त्रिक मूल्यमान्यता जोगाउनुपर्छ, त्यो रहेन भने बाँकी काम हुँदैन । त्यसैले हामी सबै मिलेर लोकतान्त्रिक मूल्यमान्यताको रक्षा ग¥यौं । केपी ओलीले गरेको असंवैधानिक काम सर्वोच्च अदालतको फैसलाबाट संविधान ट्रयाकमा आयो । त्यसपछि यतिबेला एकातिर सत्ता हेराफेरीको र अर्काेतिर नयाँ सरकार निर्माणको कुरा भइरहेको छ । केपी ओलीजी र देउवा-प्रचण्ड दुवैतिरबाट सत्ता समीकरणको प्रस्ताव आएको छ तर, हामीले ठोस निर्णय गरिसकेका छैनौं ।

नयाँ सरकार निर्माणको प्रस्ताव आइरहँदा तपाईंहरूले त वर्तमान सरकारसँग पनि वार्ता जारी राख्नु भएको छ । अब जसपा कहाँ उभिन्छ ?
हो, हामीले दुवै पक्षको प्रश्तावलाई अस्वीकार गरेका छेनौं । वर्तमान सरकारसँग हाम्रो माग मुद्दाको सम्बन्धमा गृहकार्य र छलफल भइरहेको छ र यो सकारात्मक रूपमा अघि बढिसकेको पनि छ । हाम्रा २ सय ८ जना कार्यकर्तामाथि लगाइएका झूटा मुद्दालाई कसरी फिर्ता लिने भन्ने सम्बन्धमा प्रक्रिया अघि बढ्यो । प्रधानमन्त्री ओलीजीले जसपाका माग मुद्दा सम्बन्धमा सकारात्मक रूपमा पहल गर्नुभएको छ र गर्ने विश्वास दिलाउनुभएको छ । प्रक्रियासमेत अघि बढिसकेकाले हामीले आफ्ना मुद्दालाई बढ्ता प्राथमिकता दिएका छौं । म के स्पष्ट पार्छु भने, हामी सत्ताको खेलमा छैनौं । हामीलाई सत्ता भन्दा पनि हाम्रो मुद्दा प्रिय छ । वषौँदेखि जनताको सवाल सम्बोधन भएको छैन, त्यो गम्भीर कुरा हो । त्यसको सम्बोधनका लागि प्रधानमन्त्री, काँग्रेस र माओवादीमा नेताहरुलाई भनेका छौं । अब हेरौं, मुद्दा के हुन्छ ।

उसो भए मुद्दा सम्बोधन भए भने वर्तमान सरकारलाई नै समर्थन दिने हो ?
मैले अघि नै भने, हामी सत्ताको खेलमा छैनौं । हामी त जसरी पनि माग मुद्दा सम्बोधन गराउने पक्षमा छौं । हाम्रा मुद्दा सम्बोधन गरे यही सरकारलाई धन्यवाद दिने हो । अर्को सरकार कहिले बन्ने÷नबन्ने थाहा छैन । यो तीन-चार वर्षमा कांग्रेस, माओवादी र एमालेको सरकार बनेको थियो । सबैलाई हामीले आग्रह गरेकै थियौँ । अहिलेसम्म कसैले गरिदिएको छैन । सबै नश्लवादी र औपनिवेशिक शासनको सोच राख्ने न हुन् । हाम्रो लागि त के फरक प¥यो र ! हाम्रो घाउमा मल्हम पट्टी कसैले लगाएको छैन । सबैले गोली चलाएका थिए । तर अहिले केपी ओलीजीले सम्बोधन गर्ने वचन दिएर प्रक्रिया अघि बढाउनुभएको छ । सरकारले गर्छु भनेपछि हेरिहालौं भनेर मात्रै । हाम्रो अरु स्वार्थ छैन, जसले काम ग-यो, त्यो धन्यवादको पात्र हुन्छ, त्यति हो ।

सरकार प्रतिगमनकारी भयो भनेर कांग्रेस-माओवादीसँग मिलेर आन्दोलन गर्नुभयो तर, अहिले त्यही सरकारसँग मिल्ने संकेत गर्दै हुनुहुन्छ । यो कस्तो रणनीति हो जसपाको ?
सरकारको असंवैधानिक कदमविरुद्ध हामी सबै मिलेर लडेको हो र, सच्चियो पनि । हामी कसैसँग मिल्ने, रिसाउने पक्षमा छैनौं । आफ्नो माग सम्बोधनका लागि केपी ओली सरकारलाई भनिरहेका मात्रै हौं । हाम्रो माग पूरा भएपछि मात्र सत्ता सहकार्यको कुरा हुन्छ ।

तर बाबुराम र उपेन्द्र ओलीसँग सत्ता साझेदारी नगर्ने अडानमा हुनुहुन्छ नि ?
यो बाबुरामजी वा उपेन्द्रजीको व्यक्तिगत धारणा हुन सक्छ । पार्टीले सत्ता सहकार्यका विषयमा अहिलेसम्म कुनै पनि निर्णय गरेको छैन । यो समीकरणमा के गर्ने, कस्तो भूमिका निर्वाह गर्ने भन्ने विषयमा जतिबेला यो विषय संसदमा प्रवेश गर्छ त्यतिबेला निर्णय गर्छ । हाम्रो पार्टीले त्यतिबेला उपयुक्त निर्णय गर्छ । निर्णय नभएसम्म लोकतन्त्र भएकाले नेताले आफ्नो व्यक्तिगत धारणा राख्न सक्छ । तर, पार्टीले औपचारिक रुपमा निर्णय गरेपछि सबैले त्यो निर्णय मान्नुपर्छ । एउटा बटमलाइन तपाईंलाई भनिरहेको छु– जसपाले उठाएको माग पुरा गराउन सबै जसपा एकढिक्का छ । यसमा कसैको दुईमत छैन ।

प्रमुख प्रतिपक्षी काँग्रेसले सत्ता परिवर्तनको खेलमा देखिदैन । माओवादीले अविश्वासको प्रस्ताव ल्यायो भने जसपाले जसपाले के निर्णय गर्छ ?
अहिले बहुमतकै सरकार छ । माओवादीकै समर्थनमा ओलीजीको बहुमतको सरकार छ । अचम्मको कुरा त के भइरहेको छ भने, जुन सरकारलाई प्रचण्डजीले प्रतिगमनकारी भनिराख्नुभएको छ, उहाँको पनि सरकार हो । कुनै पनि बहानामा त्यस्तो कुरा गर्न पाइन्छ ? आफू समर्थन फिर्ता नलिने अनि जसपा तयार भएन त्यसैले फिर्ता नलिएको भन्ने ? काँग्रेसको सभापतिले अविश्वासको प्रस्ताव ल्याउँदैन भनिसकेपछि जसपालाई भन्ने ठाउँ नै छैन । स्वभाविक रुपमा जब संसदमा सरकारको सवाल प्रवेश गर्छ, कसको नेतृत्वमा, कुन गठबन्धनको सरकार बन्ने भन्ने सवाल प्रवेश गर्छ, हामीले त्यतिबेला निर्णय गर्ने हो । हाम्रो नेतृत्वमा पनि सरकार बन्न सक्छ नि त !

सम्भव छ, जसपाको नेतृत्वमा सरकार ?
अब स्थिति परिपक्व बन्छ । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने भनेर निर्णय गरिसकेपछि हाम्रो पनि सरोकार आइहाल्यो, किनभने वैकल्पिक सरकार हाम्रो भूमिकाबिना निर्माण हुन सक्दैन । त्यसको हकदार स्वतः हामी पनि भइहाल्यौं । त्यो दावा हाम्रो पनि रहन्छ नि, किनभने सहमतीय निर्णय त भएको छैन । कांग्रेसले एकल निर्णय गरेको छ । वैकल्पिक सरकार निर्माण गर्नका लागि हाम्रो सहयोग त चाहिन्छ । त्यस्तो अवस्थामा हाम्रो दाबी हुनु स्वाभाविक हो ।

तपाईंलाई नेतृत्व दिन तयार होलान् त ?
उनीहरू तयार नभए हामीले नै पनि अरूको नेतृत्व स्वीकार गर्न तयार हुनुपर्छ भन्ने के छ ? अरूले हामीलाई मान्दैनन् भने हामीले पनि अरूलाई मान्नुपर्छ नै भन्ने कुरा पनि त आवश्यक छैन नि ! के हामी कसैको गुलाम हो ?

अब यतिबेलाको निकास वैकल्पिक सरकार हो कि अर्ली निर्वाचन ?
अहिलेको संवैधानिक प्रक्रियाअनुसार नै देश अगाडि बढ्ने हो । नियमित प्रक्रिया अनुसार दुई वर्षको कार्यकाल पनि पूरा हुन सक्छ वा संवैधानिक प्रक्रिया पु¥याएर अर्ली इलेक्सनमा जान पनि सक्छ । तर, अर्ली इलेक्सन किन चाहियो ? दुई वर्ष जनताको सेवा गरे हुन्थ्यो नि । जनताले ५ वर्षको लागि पठाइदिएपछि कार्यकाल पूरा गर्नु पर्दैन ? अनि दुई तिहाइ तीन वर्षमै सरकार ढालौँ भनेर दिएको हो ? यो त जनताको म्यान्डेटको अपमान हो, यो कुरा त जनताले बुझिरहेका छन् नि ।

तपाईंहरुको भित्री चाहना के हो ?
हाम्रो चाहना समस्या समाधान गर्नुप¥यो भन्ने हो । हामीले उठाएका मागको हल गरिदेओस् । चुनावैमा देश गयो भने पनि ठिकै छ । चुनावबाट भाग्छु भन्ने त लोकतान्त्रिक पार्टी हुन सक्दैन । देश निर्वाचनतर्फ गयो भने कुनै पनि लोकतान्त्रिक पार्टीले यो हुँदैन, म भाग लिन्न भन्ने अवस्था रहँदैन । कांग्रेस र एमाले दुईटै मिलेर चुनावमा गयो भने के हुन्छ ? त्यहाँ चुनावमा भाग लिनेबाहेक अरु के गर्न सकिन्छ र ? नचाहेर पनि जानुपर्छ । हाम्रो पार्टी त जनतामा जानबाट पछि हट्दैन । जनतालाई सम्मान गरिएको छ । हाम्रो चाहना कांग्रेस र एमालेजस्तो होइन, चुनाव गर् कि गर् भन्ने होइन । कांग्रेस मौकामा चौका हान्न बसेको छ । उसको दाउ कम्युनिस्ट फुटेपछि त्यहीबेला चुनाव भइजाओस् भन्ने हो । केपी ओलीजीको दाउ सरकारमा छु, चुनाव गराइहालौँ भन्ने होला । आफ्ना आफ्ना एजेन्डा, इच्छा, आफ्नो क्याल्कुलेसन होला । राजनीतिमा त्यस्तो गर्न पाइन्छ । चुनावमै देश गयो भने, हामी लोकतान्त्रिक पार्टी भएकोले चुनावबाट भाग्दैनौं । त्यो चाहिँ हो ।

अन्त्यमा, जसपामा संसदीय दलको नेता चयनमा किन विलम्ब ?
विस्तारै चुन्छौँ । पार्टी एक भइसकेपछि संसदीय दल एक हुनुपर्छ । त्यो म मान्छु । हामीले संसदीय दल एक बनाइसकेका हौं । अहिले संसदीय दलको अध्यक्षता जेष्ठ सदस्यका नाताले माननीय महन्थ ठाकुरले गरिराख्नुभएको छ । संसदीय दलको विधान ड्राफ्ट गरिसकेका छौं । आगामी बैठकबाट त्यसलाई पारित गर्छौं । अनि संसदीय दलको नेता पनि चयन गरिहाल्छौँ ।

तपाईको प्रतिक्रिया