काठमाडौं – १९ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि संकटा क्लबले हात पारेको छ । उसले शनिबार निकै रोमाञ्चक बनेको फाइनलमा ट्राइब्रेकरमा अफ्रिकन रुट्स एसोसिएसनलाई ४-२ ले पराजित गर्दै पहिलोपटक उपाधि उचालेको हो ।
संकटाका अमित तामाङ, सुवास तामाङ, निरज बस्नेत र आयुष घलानले गोल गर्दा सरोज दाहालले गोल गर्न सकेनन् । अफ्रिकन रुट्सका यनिक र राफायल रिमले गोल गर्दा केयुटे र एम्बाकोभले गोल गर्न सकेनन् । दुवै टिमले निर्धारित समयमा १-१ गोलको गरेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
खेलको ११ औँ मिनेटमा संकटाको कमजोर डिफेन्सको फाइदा उठाउँदै बासेकले गोल गर्दै अफ्रिकन रुट्सलाई अग्रता दिलाएका थिए । ५२ औँ मिनेटमा ग्लोरीले गोल गर्दै संकटालाई खेलमा फर्काए । त्यसपछि कुनै पनि टिमबाट गोल हुने नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
त्यो समयमा पनि कुनै पनि टोलीले गोल गर्न नसक्दा खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । विजेता बनेको संकटाले १० लाख १ हजार प्राप्त गर्दा उप विजेता अफ्रिकन रुट्सले ५ लाख १ हजार प्राप्त गर्यो । सहारा क्लब पोखराको आयोजनामा चैत २१ देखि सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।