काठमाडौं – फ्रान्सका युवा स्टार केलियन एम्बाप्पे टोकियोको ओलम्पिकमा सहभागी नहुने भएका छन् । उनले आफ्नो क्लब करियरको बारेमा सोच्दै ओलम्पिकमा सहभागिता जनाउन नचाहेको फ्रेन्च फुटबल संघलाई जानकारी गराएका हुन् ।
एमबाप्पे र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) को सम्झौता सकिन १ वर्ष मात्र बाँकी छ र उनलाई लिन स्पेनिस क्लब रियल मड्रिड पूर्ण रूपमा तयार रहेको बताइएको छ । रियल जाने चर्चा चले पनि पिएसजी सजिलै एमबाप्पेलाई छाड्ने पक्षमा भने छैन यसका लागि क्लबले उनलाई दिँदै आएको तलबमा ४ मिलियन युरो थप्ने निर्णय गरेको छ ।
एमबाप्पेले भने आफू सही निर्णय गर्ने बारे सोचिरहेको बताएका छन् । ‘मैले क्लबलाई बारम्बार भनिरहेको छु, म यहीँ रहे पनि लामो समयका लागि रहनेछु’, एमबाप्पेले भने, ‘मैले यो पनि भन्दै आएको छु, म यहाँ खुसी छु र क्लब र समर्थकले मलाई साथ दिँदै आएका छन् । म छिट्टै यसको निर्णय गर्नेछु ।’