टोकियो – टोकियो ओलम्पिकमा विदेशी खेल दर्शकलाई तत्कालै आमन्त्रण नगरिने भएको छ । ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न विदेशी दर्शकलाई आमन्त्रण नगर्ने बताएको हो ।
समितिका अनुसार विश्वभर करिब ४० करोड डोज खोप लगाइए पनि संक्रमण नरोकिएकाले आमन्त्रण गर्न नसकिने अवस्था आएको हो । ‘हामीले सबै सहभागीका लागि सुरक्षित र भरपर्दो वातावरण सुनिश्चित गर्नु पर्दछ,’ टोकियो आयोजक समितिका प्रमुख सेको हासिमोतोले भने, ‘यो अपरिहार्य निर्णय हो ।’
ओलम्पिक खेलको इतिहासमै विदेशी दर्शकलाई आमन्त्रण नगरिएको यो पहिलो पटक हो । जुलाई २३ बाट सुरु हुने प्रतियोगितामा कोरोना महामारी र विश्वका कैयौं देशमा रहेका यात्राका प्रतिबन्ध तथा कडा नियमका कारण विदेशी दर्शकलाई सहभागी गराउन नसकिने आयोजक कमिटीले जनाएको छ ।
त्यस्तै प्यारा ओलम्पिक अगस्त २४ देखि सुरु हुँदैछ । गत वर्ष मार्चमै हुनुपर्ने ओलम्पिक प्रतियोगिता कोरोना महामारीका कारण स्थगित भएको थियो । ओलम्पिकमा विश्वका २ सय देशका करिब ११ हजार खेलाडीले भाग लिदैछन् ।