काठमाडौं – वैदेशिक रोजगार विभागमा दिनहुँ कामदार ठगिएको गुनासो र उजुरी आउने गर्छ । विभागकै तथ्यांकले पनि महिनामा करोडौं ठगी भएको देखाउँछ ।
विशेष गरी कोरोना महामारीका कारण जारी लकडाउन अघि र लकडाउन खुलेसँगै ठगिएको गुनासो आउने क्रम बढेको हो । नेपालमा रोजगारीका अवसर नहुँदा युवाहरुको पहिलो रोजाई वैदेशिक रोजगार हुने गरेको छ । रोजगारीमा जानेबारे पर्याप्त जानकारी नहुँदा युवाहरु ठगिने क्रम बढेको हो ।
आफन्त या अझ भनौं- चिनजानकै मेनपावर सञ्चालक र बिचौलियाबाट ठगि बढेको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्म १६१ वटा ठगिको उजुरी परेको छ । ती सबै विदेश पठाउन भन्दै व्यक्तिगत ठगिमा परेकाहरुका उजुरी हुन् । पीडितले साउनदेखि पुससम्म मात्रै १५ करोड ३३ लाख ७५ हजार ८१ रुपैयाँ माग दावीसहित उजुरी दिएको विभागका सूचना अधिकारी टिकामणि नेउपानेले समुद्रपारिलाई जानकारी दिए । तीमध्ये ५८ जनाले १० करोड ५४ लाख २९ हजार ५०० रकम विगो दावीसहित अदालतमा मुद्दा दायर भएको छ ।
यस्तै गत माघ माहिनामा मात्रै ४ करोड ३६ लाख २० हजार रुपैयाँको दावीसहित विभागमा ६३ वटा उजुरी परेका छन् । जसमध्ये ६ जनाले ९ करोड ४४ लाख विगो दावीसहित अदालतमा मुद्दा दायर गरेका छन् । साउनदेखि माघ मसान्तसम्ममा २२४ जनाले १९ करोड ६९ लाख ९५ हजार रुपैयाँ दावीसहित विभागमा उजुरी परे । जसमध्ये ११ करोड ४८ लाख ६९ हजार ५ सय दावीसहित अदालतमा मुद्दा परेको विभागले जनाएको छ ।
सूचना अधिकारी नेउपानेका अनुसार मंसिरदेखि यता विभागले ३१ वटा मेनपावरमा विभागको अनुगमन शाखाले अनुगमन गरेको छ । जसमध्ये ६ वटा मेनपावरमा मात्रै केही नभेटिएको उनले बताए । अनुगमन भएका मध्ये ७ वटा मेनपावर जरिवानामा परेका छन् । १३ वटा वटा मेनपावरको कारोबार रोक्का गरिएको नेउपानेले जानकारी दिए । मंसिरदेखि यता ४ वटा कम्पनीको कारोबार फुकुवा भएको छ ।
कोरोनाको खोप सुरु भएसँगै युवा विदेश जानका लागि मेनपावर र दलालको सम्पर्कमा पुग्ने गरेका छन् । विदेश पठाइदिन्छु भन्दै मोटो रकम लिएर विदेश नपठाउने, अलपत्र पार्नेहरुलाई विभागले अनुगमन गर्दै आएको छ ।