काठमाडौं – सरकारले अर्थतन्त्रलाई चलायमान राख्न पर्यटक भित्र्याउने रणनीति लिएको छ । तर विमानस्थलमै दिइने प्रवेश अनुमति अर्थात् अन अराइभल भिसा अझै खुला गरिएको छैन । यतिखेर नेपाल आउन चाहने पर्यटकहरूले विदेशस्थित नेपाली नियोगबाटै भिसा लिएर आउनुपर्छ ।
विश्वका साढे दुई दर्जन देशमा मात्र नेपाली नियोग छन् । जसले गर्दा पर्यटन व्यवसाय र उड्डयनजस्ता क्षेत्रमा लामो समयसम्म असर पर्ने देखिएको छ । सरकारले पछिल्लो समय नेपालमा मूल भएका वा गैरआवासीय नेपाली एवम् कूटनीतिक र अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गर्ने व्यक्तिहरूलाई अनअराइभल भिसा खुला गरेको छ । त्यसअघि सन् २०२० मा लगातार ९ महिना नेपालमा विदेशीलाई आगमनमा कडिकडाउ गरिएको थियो ।
त्यसबीचको ६ महिनामा नेपाल प्रवेश गर्ने विदेशीहरू १ हजार भन्दा कमको संख्यामा रहेको विवरण नेपाल पर्यटन बोर्डको छ । नेपालमा धेरै पर्यटक आउने पश्चिमा देशहरूमा अझै लकडाउनकाबीच खोप कार्यक्रमहरू सञ्चालन भइरहेको छ । र स्वास्थ्य मन्त्रालयलेसमेत अझै खुलाउन नसुझाइसकेकाले अनअराइभल भिसा सुरु नगरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताए ।
अझै फाटफुट मात्रामा नयाँ प्रकार देखिँदा आफूहरूमा अनअराइभल खुला गर्ने आत्मविश्वास आइनसकेको उनी बताउँछन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य मन्त्रालय अझै भिसा खुला गर्नेबारे अझै अन्योलमा देखिन्छ ।
नेपालमा एकजना विदेशी पर्यटकले औसत एक साताभन्दा कम समय बिताउने र औसत दैनिक ५० डलरभन्दा केही बढी खर्च गर्ने गरेको पाइन्छ । जसले गर्दा भिसा लिने कठिनाइदेखि नेपालमा क्वारन्टीन बस्नेजस्ता थप बोझ लिएर पर्यटकहरू नआउने व्यवसायीहरूको भनाई छ । अहिलेको स्वास्थ्य मापदण्ड पालना गर्नेगरी क्वारन्टीन बस्नका लागि कोही पनि विदेशी पर्यटक नेपाल घुम्न आउन सक्ने अवस्था नभएको होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव साजन शाक्यले बताए ।होटल व्यावसायीको दुखेसो
पर्यटक भए अर्थतन्त्र चल्छ, होटल, रेस्टुराँ र पर्यटकीय गन्तव्य खुल्छन् । हेर्ने मान्छे नभए देखाउन बनाइएका संरचना, करोडौँ रुपैयाँ खर्चिएर खोलिएका होटल, पर्यटक नै नआए फिरन्तेका लागि बनाइएका पदमार्ग र गन्तव्य खोलेर के फाइदा ! पर्यटन व्यवसायीको सामूहिक गुनासो छ ।
पर्यटन व्यवसायी सरकारसँग गुहार मागिरहेका छन्, ‘पर्यटन उठ्नै सकेन । सहयोग चाहियो ।’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष सुशीलराज पौडेल थलिएको पदयात्रा पर्यटन उकासिदिन सरकारसँग आग्रह गर्छन् ।
अनलाइन र अन अराइभल प्रवेषाज्ञा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगबाट प्रवेषाज्ञाको सहजीकरण पहिलेजस्तै गरिदिन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल रिपोर्ट दिन सकिने कोभिड-१९ जाँच मेसिन राख्न र तोकिएको स्वास्थ्य निकायबाट नमुना संकलन गर्न पनि पर्यटन व्यवसायीको सरकारसँग माग छ ।यसो भन्छन् पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाधरुपमा नेपाल भ्रमण गर्न दिने तथा अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषदबाट पारित हुने विश्वास दिलाए ।
उनले विदेशी पर्यटक आवागमनलाई सहज तुल्याउन व्यवसायीको आग्रहबमोजिम पर्यटन क्षेत्रको समस्या सम्बोधनका लागि अन्तरमन्त्रालय छलफल गरेर पहलकदमी लिएको र यसले छिट्टै परिणाम हासिल गर्ने बताए । पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले विदेशीको पर्यटक आवमनलाई सहज तुल्याउन मन्त्रालयले पहल गरिरहेको र छिट्टै यसले निकास पाउने उनको भनाई छ ।