काठमाडौं – इन्डियन प्रिमियर लिग(आइपिएल)को १४औँ संस्करणका लागि खेडाली भित्र्याउन अहिले अक्सन चलिरहेको छ । दक्षिण अफ्रिकाका अलराउण्डर क्रिस मोरिस आइपिएल अक्सनमा सबैभन्दा महंगोमा बिक्ने खेलाडी बनेका छन् ।
१६ करोड २५ लाखमा राजस्थान रोयल्सले उनलाई खरिद गर्दा आइपिएलमा युवराजसिंहको कीर्तिमान तोडिएको छ । २०१५ को सिजनमा युवराज सिंहलाई दिल्लीले १६ करोडमा खरिद गरेको थियो । त्यसपछि युवराज सिंहको रेकर्ड तोडिएको थिएन।
७५ लाख आधार मूल्य भएका मोरिसलाई सुरुमा मुम्बईले बोली लगाएको थियो । त्यसपछि प्रतिस्पर्धामा बैंग्लोर आएको थियो । १० करोड मूल्य भएपछि बैंग्लोरले बोली लगाउन छाडेको थियो । त्यसपछि मुम्बईसँग प्रतिस्पर्धा गर्न राजस्थान आएको थियो । मुम्बई १३ लाख पछि रोकिएको थियो । त्यसपछि पञ्जाब र राजस्थानले मोरिसलाई लिन ठूलो प्रतिस्पर्धा गरेका थिए। अन्त्यमा राजस्थानले लियो ।