काठमाडौं – सरकारले काठमाडौँ महानगरभित्र पहिलो चरणमा स्वचालित प्रणालीबाट पानी पिउन पाउने व्यवस्था गरेको छ । सरकारले त्यसलाई वाटर एटीएमको नाम दिएको छ ।
एटीएम भन्नेबित्तिकै पैसा निकाल्ने मेशिनको चित्र हामी सबैको दिमागमा आउँछ । किनकि नेपालीले देखेको पनि र प्रयोग गरेको पनि त्यही हो । सरकारले काठमाडौँमा सहजरुपमा पिउने पानीका लागि वाटर एटीएम राखेर नागरिकलाई सहजरुपमा सेवा दिने प्रणालीको विकास गरेको छ । यसले आमरुपमा नागरिकलाई राहत दिनेछ ।
वाटर एटीएमबाट पानी पिउनका लागि निश्चित पैसा भने तिर्नुपर्नेछ । खानेपानी मन्त्रालय, काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २९ माघदेखि काठमाडौँमा वाटर एटिएम सञ्चालनमा ल्याएको हो । बिहीबार एक कार्यक्रमकाबीच खानेपानीमन्त्री मणिचन्द्र थापाले वाटर एटीएमको उद्घाटन गरे । सरकारको योजनाअनुसार पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान् पाउमा वाटर एटिएम सञ्चालन गरिएको छ ।
वाटर एटीएम जडान भएसँगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध हुने सरकारको भनाइ छ । वाटर एटीएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले २०० मिलिमिटरका लागि रु.२ तिर्नुपर्नेछ । यस्तै एक लिटरका लागि रु.५ तिर्नुपर्छ । वाटर एटिएम आगामी तीन महिनासम्म सामान आपूर्तिकर्ताले नै सञ्चालन गर्नेछ । तीन महिनापछि भने बोर्डलाई हस्तान्तरण गर्नेछ । उक्त एटीएमबाट जाडोको समयमा तातो र गर्मी समयमा चिसो पानी उपलब्ध गराउनेछ । त्यसका लागि आवश्यक प्रणालीसमेत जडान गरिएको छ ।
वाटर एटिएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ । काठमाडौँ उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाका अनुसार आगामी तीन साताभित्र राजधानी काठमाडौंका विभिन्न १५ स्थानमा त्यस्ता एटीएम जडान गरिनेछ । एटिएमबाट कसरी पानी निकाल्ने भन्नेबारेमा बुझिने भाषामा जानकारीसमेत राखिएको छ ।
आगामी एक साताभित्र कलङ्की, मालपोत, बानेश्वर, बङ्गलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शङ्खपार्क धूम्रबाराहीमा पनि वाटर एटिएम सञ्चालन गर्ने तयारी गरिएको छ । यस्तै काठमाडौँ ललितपुर र भक्तपुरका विभिन्न स्थानमा पनि त्यस्तै संरचना जडान गरी सञ्चालनमा ल्याइने खानेपानी मन्त्रालयको भनाइ छ ।