आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री शशांक कोइरालासँग खुलेर कुरा गरेका छन्।

देउवाको निम्तोपछि आइतबार दिँउसो उनकै निवास बुढानिलकण्ड पुगेका कोइरालासँग संसद विघटन गर्ने सरकारको कदम र पार्टीको आन्तरिक राजनीतिका विषयमा कुराकानी गरेका हुन्।

देउवाका विश्वासपात्र महामन्त्री पूर्णबहादुर खड्का, रमेश लेखकलगायत सीमित नेताहरुको उपस्थितिमा पछिल्लो घटनाक्रमबारे छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ।

भेटमा सभापति देउवाले आफूले प्रतिनिसभा विघटनलाई असंवैधानिक भनेर विरोध गरे पनि पार्टीभित्रबाटै ‘प्रधानमन्त्री केपी ओलीसँग मिल्यो भनेर मिथ्या आरोप लगाएको’ भन्दै असन्तुष्टि पोखेको स्रोतले जानकारी दियो।

प्रतिनिधिसभा विघटनपछि कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संसद पुनस्थापनाको मागसहित सशक्त आन्दोलनमा जानुपर्ने अडान राख्दै आएको छ। तर संस्थापन पक्ष भने अदालतको निर्णय कुर्नपर्ने लविङ गरिरहेको छ। पौडेल खेमाका रहेका कोइरालासँग आफूलाई पार्टीभित्रैबाट खेद्ने काम भएको बताएका थिए।

दुई नेताबीच सोमबार संसद विघटनविरुद्ध कांग्रेस आह्वान गरेको देशव्यापी प्रर्दशनलाई सशक्त र संयमित बनाउनुपर्ने विषयमा समेत कुराकानी भएको भेटमा सहभागी एक नेताले जनाएका छन्।

स्रोतका अनुसार देउवाले आउँदो महाधिवेशनमा मिलर जानसमेत कोइरालालाई आग्रह गरेका छन्। जवाफमा कोइरालाले छलफल गर्न आफू तयार रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया