शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – “होटल एभरेस्ट भ्यू” विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको छ । सगरमाथालगायतका हिमालचुलीहरु आँखै अगाडि उभिएको देख्न सकिने सोलुखुम्बुको यो होटललाइ गिनिज बुक अफ वर्ल्ड रेकर्डले समेत सूचीकृत गरेको छ । सन् २००४ मा समुद्र सतहबाट सबैभन्दा अग्लो स्थानमा रहेको होटल भनेर एभरेस्ट होटल सूचीकृत भएको हो ।

नेपाल र नेपाली पर्यटनलाई हस्पिटालिटिको क्षेत्रबाट विश्व मानचित्रमा पुर्‍याउने होटल एभरेस्टका संस्थापक हुन् जापानी मेकानिकल इन्जिनियर ताकासी मियाहारा । गत वर्ष मंसिर ८ (नोभेम्बर २४)मा ८५ वर्षको उमेरमा क्यान्सरले ज्यान गुमाएका मियाहाराका पर्यटकीय योगदान भने दीर्घजीवी छन् ।

पेसाले मेकानिकल इन्जिनियर मियाहारा हिमाल आरोहणमा उत्तिकै पोख्न र सक्रिय थिए । उनी सन १९६२ को वसन्त ऋतुमा पश्चिम नेपालको सात हजार मिटर मुनिको मुकुट हिमाल आरोहण गर्न आए । आरोहण सफल भयो । आरोहण गरेर जापान फर्किएपछि उनको नेपाल मोह झनै बढेर गयो ।

चार वर्षपछि उनी पुनः नेपाल फर्किए ।

सन १९६२ मा २८ वर्षको उमेरमा पहिलो पटक नेपाल आएका मियाहारा सगरमाथा क्षेत्रमा भने सन १९६८ को फेब्रुअरीमा मात्रै पुगे । एक जापानी साथीलाई हेलिकप्टर उद्धार गर्ने सिलसिलामा मियाहारा सगरमाथा क्षेत्रमा पुगेको छोरी सोनिया सुनाउँछिन् । आफ्ना साथी उद्धारका क्रममा सगरमाथा क्षेत्रको तेङ्बोचेमा पुगेका मियाहारालाई स्थानीय ‘भोटे कुकुर’ले टोक्यो । उनी उपचार गराउन सगरमाथाका दुई प्रथम आरोहीमध्येका एक एडमन्ड हिलारीले खुन्देमा खोलेको क्लिनिकमा पुगे । क्लिनिकमा उनलाई न्युजिल्यान्डबाटै आएका डाक्टर जोन म्याककिनोनले उपचार गरे ।

क्लिनिकमा कुकुरले टोकेको उपचार मात्रै भएन । त्यहाँको पर्यटकीय सम्भावनाको छलफल पनि भयो । मियाहाराले राम्रो होटल खोल्ने इच्छा व्यक्त गरे । डाक्टर म्याककिनोनले होटल खोल्ने उचित स्थान देखेको बताए । र, पत्ता लाग्यो एक सुन्दर ठाँउ । जहाँ अहिले उभिएको छ विश्वकै आइकोनिक होटल एभरेस्ट भ्यू ।

होटल एभरेस्ट सन १९६८ बाट सुरु भएर सन १९७१ मा निर्माण सम्पन्न भयो । मियाहाराले सन १९६८ मा खोलेको आफ्नो ट्राभल एजेन्सी ट्रान्स हिमालयन टुरको आधिकारिक वेबसाइटमा उल्लेख गरेअनुसार होटल बन्न २ लाख घन्टाको श्रम परेको छ । होटलका भित्ता उभ्याउन हातैले बनाएर २५ हजार सेता ढुंगाहरु प्रयोग भएका छन । १२ कोठे होटलका हरेक कोठाबाट सगरमाथा र आसपासका हिमाली शृंखलाहरु देखिन्छन । होटल बनाउँदा देखिएका ठूल–ठूला ढुंगाहरु फुटाइएन । बरु, जस्ताको त्यस्तै राखिएको छ ।

अझ रोचक कुरा त स्थानीय महिलाको आय होस भन्ने हेतुले मियाहाराले धेरै समयसम्म पानी तान्ने मेसिन होटलमा जडान गरेनन । खुम्जुङ गाँउबाट पानी बोकाएर आगन्तुकहरुलाई दिए । खुम्जुङमा पर्यटकीय चहलपहल बढेर स्थानीयका अन्य आम्दानीका स्रोत फेला परेपछि मात्रै पानी बोक्ने चलन होटल एभरेस्टमा बन्द भयो । मियाहाराले त्यो बेला होटल एभरेस्ट खोले जब सगरमाथा राष्ट्रिय निकुञ्ज स्थापना भएकै थिएन । निकुञ्जभन्दा आधा दशक जेठो हो होटल एभरेस्ट भ्यू । अहिले जस्तो खुम्बु क्षेत्रमा पर्याप्त होटलहरु पनि थिएनन् त्यो बेला ।

मियाहाराले खुम्बु क्षेत्रमा होटल एभरेस्ट भ्यू मात्रै खोलेनन । उनले विश्वको सबैभन्दा अग्लोमध्ये गनिने स्याङ्बोचे हवाई मैदान बनाउने नेतृत्व लिए । तत्कालीन सरकारले पाँच लाख सहयोग गरेर जनश्रमदानबाट बनेको सोलुखुम्बुको सबैभन्दा अग्लो स्थानमा रहेको स्याङ्बोचे विमानस्थालको अवधारणा पनि उनैको हो ।

यति मात्रै होइन मियाहाराले हरियो तरकारी नफलाउने खुम्बुमा जापानबाट बिरुवा ल्याएर हरियो सागसब्जी उत्पादनमा समेत काम गरे । खुम्बु पासाङल्हामू गाँउपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार मियाहाराले टनेल बनाएर हरियो सागपात उत्पादन गर्न थालेपछि खुम्बु क्षेत्रमा सागपात स्थानीय रुपमै उत्पादन सुरु भएको बताए । यस्तै अधिकारीले खुम्बुमा काठका सुन्दर घर बनाउने अवधारणा पनि मियाहाराले नै सुरु गरेको बताए ।

यसरी विभिन्न पर्यटन परियोजनामा जोडिएका मियाहारा नेपालको पर्यटन क्षेत्रमा वैदेशिक लगानी भित्राउने पहिलो पुस्ताका उद्यमी पनि हुन् । सन १९८७ मा होटल हिमालयमा लगानी गर्ने जापानी रियल स्टेट कम्पनी मित्सुई फुदोसान नेपालमा लगानी गर्ने पहिलो गैरभारतीय विदेशी कम्पनी हो ।

नेपालमा निरन्तर बसाइको चार दशकपछि मियाहाराले नेपाली नागरिकता लिए । नेपालस्थित जापानी दूतावासको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार उनले सन २००५ मा नेपाली नागरिकता लिए ।

दशकौं नेपाली पर्यटन क्षेत्रमा योगदान गरेका मियाहाराको अत्यसँगै अहिले उनको व्यावसायिक नेतृत्व उनकी छोरी सोनियाले सम्हालेकी छिन् । अमेरिका तथा बेलायती विश्वविद्यालयमा अध्ययन गरेकी सोनिया बुबाको ‘लिगेसी’ पछ्याउँदै छिन् । जापान तथा सिंगापुरको लोभलाग्दो जागिर छाडेर नेपाल आएकी सोनिया भन्छिन्, ‘बाबाले जस्तै नेपाली पर्यटन क्षेत्रमा मैले योगदान पुर्याउन सकुँला नसकुँला त्यो त थाहा छैन । बाबाले बनाएको बाटोलाई भने निरन्तरता दिनेछु ।’

तपाईको प्रतिक्रिया