आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – अग्रज अभिनेता राजेश हमाल पछिल्लो समय म्युजिक भिडियोमा बढी व्यस्त हुन थालेका छन् । भिडियोप्रति उनको मोह अचम्मले बढेको छ । लकडाउनका कारण लामो समय मौन रहेका उनी गत असोजबाट म्युजिक भिडियोतर्फ सक्रिय भएका हुन् ।

गत असोजमा विपन्न प्राविधिकहरूलाई राहत प्रदान गर्ने क्रममा उनले अब केही समय आफू राम्रा गीतको म्युजिक भिडियोमा सक्रिय रहने बताएका थिए । सो घोषणापछि राजेशलाई एकपछि अर्को म्युजिक भिडियोमा लगातार प्रस्ताव आएको छ । यही क्रममा यी अभिनेताले यो एक महिनामा आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
उनको बिहीबार मात्र एउटा नयाँ भिडियो रिलिज भएको छ । राजेश हमालले अभिनय गरेको लोकलयमा आधारित नयाँ गीत मालिंगो…को भिडियो रिलिज भएको हो । जसमा आफ्नो नातिनीको उमेरकी गायिका स्मिता दाहालसँगै उनकै भिडियोमा राजेश हमाल जोडी बनेर प्रस्तुत भएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिताको संरक्षक जोडी भएर राजेश हमाल उत्रिएका छन् । भिडियोमा राजेश हमाल पत्रिका पु-याउने हकरको भूमिकामा देखिएका छन् । स्मितालाई जबरजस्ती करणीबाट राजेशले जोगाएपछि उनीहरूबीचको प्रेम यो भिडियोमा देखाइको छ ।

यो गीतलाई स्मिता र राजनराज शिवाकोटीले गाएका हुन् । निर्देशक सरोज ओलीले यो भिडियोमा राजेश हमाल र स्मिता दाहाललाई प्रस्तुत गरेर १७ वर्षकी किशोरी र ६० पुग्न लागेका पुरुषबीच पनि प्रेम हुन्छ भन्ने देखाएका छन् ।

अभिनेता राजेशले अभिनय गरेको अर्को गीत यादका लहरहरू…को भिडियो तिहारकै मुखमा सार्वजनिक गरियो । जसमा अभिनेता राजेशसँग अभिनेत्री करिश्मा मानन्धर प्रस्तुत भएकी छन् । राज सागरको संगीत, डा. प्रकाश पौडेलको शब्द रहेको यो गीतलाई अन्जु पन्तले गाएकी हुन् ।

अभिनेत्री करिश्मासँग अभिनेता राजेश लामो समयपछि भिडियोमा प्रस्तुत भएका हुन् । यो गीतको भिडियोमा यी करिश्मा र राजेशलाई पुरानो प्रेमी प्रेमिकाको रूपमा निर्देशक हरि हुमागाईंले प्रस्तुत गरेका छन् । भिडियोमा एकले अर्कालाई याद गरेरको देखाइएको छ । उनीहरूको विगतको प्रेम सम्बन्धलाई पनि सम्झनाबीच भिडियोमा प्रस्तुत गरिएको छ ।
अभिनेता राजेश हमालको भनाइमा छोटो समयमा राम्रो पारिश्रमिक आउने र दर्शकमाझ निरन्तर प्रस्तुत हुन पाइने माध्यम म्युजिक भिडियो हो । अहिलेको अवस्थामा चलचित्रको छायांकन अझै केही समय नहुने भएकाले आफूले म्युजिक भिडियोलाई निरन्तरता दिएको उनले बताएका छन् ।

तिहारअघि मात्र गायक तथा मोडल दुर्गेश थापासँग एउटा गीतको भिडियोमा अभिनेता राजेश दुर्गेशको दाइ बनेर प्रस्तुत भएका छन् । यो भिडियो अहिले प्रतीक्षामा रहेको छ । जसबाट राजेश पनि निकै आशावादी छन् ।

यिनै अभिनेता राजेश एक महिनाअघि दसैंको छेका पारेर गायक प्रकाश पराजुली र गायिका देवी घर्तीको गीतमा मोडलको रूपमा प्रस्तुत भएका थिए । मञ्जरी…बोलको यो लोकभाकामा अभिनेता राजेशले अभिनेत्री वर्ष शिवाकोटी र गायक अभिनेता प्रकाश सपूतसँग अभिनय एवं नृत्य गरेका छन् । यो गीतको भिडियो पनि आफूलाई मन परेको यी अभिनेताको कथन छ ।

एक महिनाअघि नै अभिनेता राजेश अर्को नयाँ गीत सम्झिएर जिन्दगी…मा मोडल बनेर प्रस्तुत भए । प्रमोद खरेलले गाएको यो अधुनिक गीतमा सपना पुनको शब्द र देवकुमार चौधरीको संगीत थियो । यो गीतको भिडियोमा अभिनेता राजेशले मोडल पुष्पा लिम्बुको जोडी बनेर अभिनय गरेका थिए । जसमा अभिनेता राजेशको अभिनय प्रशंसनीय छ ।

एक दिनमा छायांकन सम्पन्न हुने एउटा गीतको म्युजिक भिडियोमा अभिनेता राजेश हमालले १ लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । गीत र टिम हेरेर उनले आफ्नो पारिश्रमिक तय गर्छन् । उनलाई यतिबेला थुप्रै म्युजिक भिडियोबाट प्रस्ताव आएको छ । सबै भिडियो गर्ने हो भने दिन दिनै भिडियोमै व्यस्त हुने पनि यी अभिनेताको कथन छ ।

उनी भिडियोबाट आफुले निर्माण गर्र्ने एउटा चलचित्रको तयारीमा पनि छन् । जसमा उनी निर्देशनसमेत गर्ने योजनामा छन् । तर, काठमाडौंमा कोरोनाको महामारी अझै नघटेका कारण आफ्नो नयाँ फिल्म कहिलेबाट सुरु गर्ने भन्ने निष्कर्षमा अभिनेता राजेश हमाल पुग्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया