काठमाडौं – विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ५ करोड ६१ लाख नाघेको छ भने १३ लाख ४६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ६१ लाख ११ हजार १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १३ लाख ४६ हजार ६९३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड ९१ लाख १ हजार ७०९ जना कोरोना मुक्त भएका छन् ।
यसैगरी प्रभावित देशको सूचीमा ५१ औं स्थानमा रहेको जापानमा संक्रमितको संख्या १ लाख १९ हजार नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार कुल संक्रमितको संख्या १ लाख १९ हजार ३२६ पुगेको छ भने तीमध्ये १ लाख ४ हजार ६३७ निको भएका छन् । १ हजार ९०३ जनाले ज्यान गुमाएका छन भने अहिले संक्रिय संक्रमितको संख्या १२ हजार ७८६ छ ।
जापानले विदेशीहरूका लागि अक्टोबर १ देखि प्रवेशमा सहज बनाएको छ । यद्यपि पर्यटक आवागमनलाई भने अझै अस्वीकार गरिएको छ । तर पनि पछिल्लो समयमा जापानमा कोभिड १९ का संक्रमितहरुको संख्या भने बढ्दो रहेको देखिएको छ ।