बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – कोरोना भाइरसको विश्वव्यापी महामारीबीच होटलको बसाइ सुरक्षित हुन्छ कि हुँदैन ? यो अहिले लामो लकडाउनपछि घुम्न चाहने आममानिसको साझा प्रश्न हो । आममानिसमा अलमल बढिरहेको समयमा अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले यस बारेमा धारणा सार्वजनिक गर्दै स्पष्ट पारेको छ । कोरोनासँग सुरक्षित रहनका लागि होटलभन्दा घर नै सुरक्षित हुने भन्दै केन्द्रले भनेको छ ।

तर, संयुक्त रुपमा भाडाको घरमा वा फ्ल्याटमा बस्नुभन्दा भने होटलमा बस्नु ठिक हुने केन्द्रको ठहर छ । आफ्नै घर हो, फ्ल्याट पनि छुट्टै छ भने घरमै बस्न सुझाव दिने गरेको केन्द्रका अधिकारीले जनाएका छन् । सँगसँगै खाने, सँगसँगै सुत्ने वा शौचालय पनि साझा हुने होटल तथा लज सबैभन्दा असुरक्षित हुने केन्द्रको भनाइ छ ।

होटलमै वा भाडाका ठाउँमा बस्नु परेमा कम्तिमा ७२ घण्टाभन्दा पछाडि कोही बसेको छैन भन्ने सुनिश्चित गरेर मात्रै बस्न पनि केन्द्रका चिकित्सकले सुझाव दिएका छन् । त्यसरी बस्नु अगाडि पर्याप्त सेनिटाइजेसन गर्न वा किटाणु मार्ने उपाय गर्न क्यालिफोर्निया विश्वविद्यालयका संक्रमण विज्ञ डा. नतास्चा टुज्निकको जोड छ ।

धेरै छोइने तथा प्रयोग हुने ढोका, झ्याललगायत ठाउँमा साबुन पानी वा अन्य साबुनजन्य पदार्थले सफा गर्न वा कोठामा हावा खेल्ने बनाउन पनि उनले सुझाव दिएकी छन् । होटलमा बस्दा सबै सुरक्षाका उपाय के कत्तिको अवलम्बन गरिएको छ, सरसफाइको प्रक्रिया के छ, सामाजिक दुरी कायम गरिएको छ कि छैन, साझा ठाउँ तथा सामग्रीको प्रयोग भएको छ कि छैन जस्ता विषयमा पनि ख्याल गर्न उनले आग्रह गरेकी छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया