शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यकी छोरीले कोराना संक्रमितका लागि प्लाज्मा दान गरेकी छन् । मेयर शाक्यले आफ्नी छोरीले संक्रमितको उपचारका लागि प्लाज्मा दान गरेकोले अन्य सबैले पनि दान गर्न अपिल गरेका छन् ।

कोरोना संक्रमणका कारण गम्भीर बनेका बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि उनले अपिल गरेका हुन् । केही समय अघि कोरोनामुक्त भएका प्रमुख शाक्यले कोरोनाका गम्भीर बिरामीको ज्यान बचाउन आफू पनि प्लाज्मा दान दिन तयार रहेको भन्दै अरुलाई पनि यस्तो काममा सहयोग गर्न अनुरोध गरेका छन् ।

‘मलाई कोरोना संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखियो । अहिले हामी सबै स्वस्थ जीवनमा फर्किएका छौं,’ शाक्यले भने, ‘छोरी पलिस्था शाक्यले हिजो मात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी छिन् ।’

कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकालाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस भन्ने उदेश्यले परिवारबाटै प्जाज्मा दिन सुरुवात गरेको शाक्यले बताए । पलिस्था शाक्यले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण विरामी भई ओम नर्सिङ होममा उपचार गरारहेकी काठमाडौँ महानगरपालिका वडा–४ की ७६ वर्षीया महिलाको उपचार भैरहेको छ ।

‘काठमाडौं उपत्यकाका र महानगरपालिका पछिल्लो समय कोरोनाको हटस्पट बनिरहेको  छ। यस्तो बेलामा संक्रमणपछि स्वस्थ जीवनमा फर्किएका र स्वस्थ मानिसलाई प्जाज्मा दान गर्ने हो भने धेरैको ज्यान बचाउन सकिन्छ,’ शाक्यले भने, ‘कोरोना संक्रमित भनेर कसैले कसैलाई दुव्र्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु । संक्रमितलाई सबैको प्रोत्साहन प्राप्त भयो भने सबै भन्दा ठूलो औषधि त्यही हुन्छ ।’

उनले अहिले काठमाडौं महानगरपालिकाका विभिन्न वडामार्फत संक्रिमितलाई प्रोत्साहन दिन फलफूल, मास्क, आर्योवेदिक औषधिलगायतका सामग्री लिएर जनप्रतिनिधि होमआइसोलेसन र आइसोलेसनमामा पुग्ने गरेको पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया