काठमाडौं – कोरोना भाइरस विरुद्धको प्रभावकारी खोप निर्माणमा विश्वव्यापी प्रतिस्पर्धा चलिरहेकै बेलामा चीन र रुसले भने आफ्नो देशमा बनेका भ्याक्सिन, ट्रायल सकिनु अगाडि नै स्वीकृत गरि प्रयोगमा ल्याइसकेका छन् ।
गत हप्ता मात्र रुसका राष्ट्रपति भलाद्मीर पुटिनले ‘पेप्टाइड’ मा आधारित दोस्रो कोरोना भाइरसको खोपलाई पनि स्वीकृति दिइएको बताएका हुन् । यो एक साइबेरियन बायोटक कम्पनीले निर्माण गरेको खोप हो र ठूलो स्तरको ट्रायलको तयारी गरिरहेको छ । रुसले सेप्टेम्बरमै देशमा नीर्मित खोप संवेदनशील वर्गका पाँच हजार मानिसहरुलाई अन्तिम ट्रायल स्वरुप लगाएको थियो ।
यसरी ‘स्पट्निक भी’ अहिले थोरैथोरै मात्रामा देशका विभिन्न क्षेत्रमा वितरण भइरहेको छ । यसको अन्तिम क्लिनिकल ट्रायलमा झण्डै ४० हजार सहभागी हुने बताइएको छ । स्पट्निकका केही साइड इफेक्टहरु ज्वरो र सुइ लगाएको ठाउँमा दुखाइ मात्र भएको बताइएको छ जुन सबै खोप प्रक्रियामा देखिने सामान्य लक्षण हुन् । केही दिन अघि भारतले पनि दोस्रो र तेस्रो चरणको मानव ट्रायल सुरु गर्न स्पुतनिक खोपलाई स्वीकृति दिएको थियो र यसको वितरण सम्बन्धी पनि भारतका ल्याबहरु सहमतिमा आइसकेका छन् । ट्रायल सफल भएमा स्पुतनिकको १० करोड बराबरको डोज भारतमा आपूर्ति गरिनेछ । सो डेलिभरि ट्रायल सकिएपछि २०२० को अन्त्यतिर सुरु गरिने बताइएको छ ।
सेप्टेम्बरमा स्पट्निक भी, छिमेकी बेलारुसमा पनि डेलिभर गरिएको थियो जसको ट्रायल १०० स्वयम सेवकमा गरिने भनिएको छ । त्यस्तै होन्डुरसका पूर्व राष्ट्रपति म्यानुएल जेलायाले पनि रुसको सम्भावित कोरोना खोपको तेस्रो चरणको ट्रायलमा सहभागीता जनाएका हुन् ।
गत सेप्टेम्बर २२ मै पुटिनले संयुक्त राष्ट्रको सभामा बोल्दै, रुसले विश्वकै पहिलो कोरोना भाइरसविरुद्धको खोप बनाएको घोषणा गरेका थिए । यसरी २०२० को अन्त्यसम्ममा रुसले ठूलो सङ्ख्यामा देश बाहिर पनि खोपहरु आपूर्ति गर्ने मस्कोका मेयर सेर्गी सोबयानिनले यसअघि दाबी गरेका हुन् जुन अहिले अन्तिम क्लिनिकल ट्रायलको चरणमा छन् । त्यसैगरी रुसको विमानस्थलमा अर्को महिनादेखि खोकीको आवाजका आधारमा कोरोना भाइरसको परीक्षण गर्न सक्ने डिभाइस पनि प्रयोगमा ल्याइने क्रेम्लिनका प्रवक्ता डिमिट्री पेस्कोभले बताएका छन् ।
यता पश्चिमी स्वास्थयविद्हरुले चाहिँ खोपको यसअघिका ट्रायल धेरै सानो भएकाले परीक्षण पूरा नभइ प्रयोगमा ल्याउने सम्बन्धी चिन्ता व्यक्त गर्दै आएका छन् ।
रुसमा जस्तैगरी चीनमा पनि मंगलबार मात्र झण्डै ६० हजार नागरिकहरुलाई देशमै बनेको खोप लगाइएको राष्ट्रिय संचार सिजिटिएनले जनाएको छ र यस क्रममा एक जनामा पनि कुनै गम्भीर साइड इफेक्ट देखा नपरेको बताइएको हो ।
चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारी तिआन बाओगुओका अनुसार खोप निर्माणको कार्यमा चीन अहिले १४ वटा भ्याक्सिन सहित विश्वमै सबैभन्दा अगाडि छ । र ती मध्येमा पनि चारवटा अन्तिम तेस्रो चरणको ट्रायलमा प्रवेश गरिसकेका छन् जुन हाल १० वटा देशमा सञ्चालन भइरहेको छ । चीनले वर्षको अन्त्यसम्ममा कोरोना भाइरसका ६१ करोड डोज उत्पादन गर्ने अपेक्षा गरिएको छ । र खोपको अत्याधिक ठूलो माग पूरा गर्न आगामी वर्ष झन ठूलो स्तरमा उत्पादन सुरु गरिने पनि बताएको हो ।
चीनले यसअघि नै आपतकालिन प्रयोगका लागि सबैभन्दा बढी जोखिममा रहेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई खोप लगाउन स्वीकृति दिइसकेको छ । र अधिकारीहरुले अहिलेसम्म खोपका कुनै गम्भीर असर फेला नपरेको र सुरक्षित साबित भएको बताउँदै आएका छन् । चीनले अहिले महामारीबाट सबैभन्दा नराम्ररी प्रभावित मुलुकहरु, विशेषगरी दक्षिणपूर्वी एसिया, अफ्रिका र अमेरिकामा तेस्रो चरणका ट्रायलहरु सञ्चालन गरिरहेको छ ।
सम्भावित खोपहरु आफ्नै देशमा मात्र सिमित गराउने विरुद्ध संयुक्त राष्ट्रले सुरु गरेको ‘ग्लोबल इनिसिएटिभ’, ‘कोभ्याक्स’ मा चीन पनि संलग्न रहेको छ जसले सबै क्षेत्रमा बराबर खोप वितरण भइरहेको सुनिश्चित गर्नेछ । अमेरिका भने यस इनिसिएटिभमा सहभागी छैन ।
चिनियाँ विदेश मन्त्रालयका अधिकारी जाओ शिङले यस सम्बन्धी भनेका छन् , “खोप निर्माण कार्यमा हामी सबैभन्दा अग्रणी भएपनि र आफ्ना देशका लागि पर्याप्त उत्पादन गर्न सक्ने क्षमता भएपनि हामीले कोभ्याक्समा सहभागी हुने निर्णय गरेका हौँ र विश्वका सबै सक्षम राष्ट्रहरुलाई यसमा संलग्न हुन प्रोत्साहन गर्न चाहन्छौं ।” चिनियाँ अधिकारीहरुले सुरुवातदेखि नै खोपलाई विश्वव्यापी बनाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।
यता अमेरिकाको मोडेर्नाले पनि पहिलो ठूलो स्तरको ट्रायल सुरु गर्न ३० हजार स्वयमसेवक नियुक्त गरिसकेको छ । सबै सहभागीले बिहिबार पहिलो डोज प्राप्त गरि अधिकांशलाई दोस्रो डोज पनि दिइएको बताएको छ । कम्पनीका प्रमुखले अब छिटै एफडीआइसँग स्वीकृति माग्नका लागि आवदेन दिने बताएका हुन् र ट्रायल सफल भए डिसेम्बरको सुरुवात तिर नै खोप बजारमा उपलब्ध गराउने दाबी पनि गरेका छन् ।
त्यस्तै अर्को अमेरिकी कम्पनी पिफाइजरलाई पनि खोप निर्माणको प्रतिस्पर्धामा अग्रणी दाबेदार मानिँदै आएको छ । यसअघि पिफाइजरलाई आपतकालिन प्रयोगका निम्ति स्वीकृति दिने कुरा पनि उठेको थियो । कम्पनीले वर्षको अन्त्यसम्ममा अमेरिकामा खोप उपलब्ध भइसक्ने बताइरहेको छ । यसमा राष्ट्रपति ट्रम्पले समेत निर्वाचन अगाडि नै पिफाइजर खोप उपलब्ध हुने वचन दिएका थिए तर सुरक्षा र प्रभावकारीता सम्बन्धी पर्याप्त डाटाका निम्ति अझै ४४ हजार मा क्लिनिकल ट्रायल आवश्यक रहेको हुँदा अर्को महिनासम्म खोप आउने सुनिश्चित गर्न नसकिने भएको हो ।
अमेरिकाकै ‘जन्सन एण्ड जन्सन’ पनि मानव ट्रायलको अन्तिम चरणमा पुगिसकेको थियो तर सहभागीमा समस्या देखापरेपछि ट्रायल केही समयका लागि रोकिएको थियो जुन आगामी हप्ता देखि पुनः सुचारु हुने अपेक्षा गरिएको छ ।
उता अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका कम्पनीले निर्माण गरिरहेको खोपको पनि अगस्टमा नै मान्छेमा परीक्षण थालिएको थियो तर सहभागीहरुमा विभिन्न समस्या देखा परेपछि ट्रायल बीचमा रोकिएको हो । अरु देशमा ट्रायल पुनः सुरु भइसके पनि अमेरिकामा आगामी हप्तादेखि मात्र सुरु हुन सक्ने बताइएको छ । त्यस्तै यसअघि ब्राजिलको स्वास्थ्य निकायले एस्ट्राजेनेका खोपको ट्रायलमा सहभागी एकजनाको मृत्यु भएको जानकारी गराएको थियो । तर निरीक्षणकर्ताहरुले घटनाको जाँच गरि चिन्ताजनक नभएको बताउँदै ट्रायल जारी राखिने भनेका हुन् जसपछि सो मृत्यु खोपसंग सम्बन्धित नभएको हुन सक्ने अनुमान गरिएको छ । खोपविद्हरुले पनि यसबारे ठूल-ठूला ट्रायलमा जुनसुकै कारणवश व्यक्तिको मृत्यु हुने वा बिरामी पर्न सक्ने बताउँदै आएका छन् जसका लागि खोप जिम्मेवार नहुन सक्छ । एजेन्सी @