काठमाडौँ – ‘बायोलोजिकल गोल्ड’ अर्थात् ‘जैविक सुन’ समेत भनेर विश्वले चिनेको हिमाली जडिबुटी ‘यार्सागुम्बा’ को नाममा लक्ष्मण श्रेष्ठले २९ वर्षदेखि अल्कोहलिक बेभरेज उत्पादन गर्दै आएका थिए। तर त्यो असाध्यै सानो परिमाणमा थियो।
श्रेष्ठको एभरेष्ट हर्ब्स प्रोसेसिङ प्रालिले घरेलु उद्योगको शैलीमा सीमित जनशक्तिबाट यसको उत्पादन गरिरहेकाले बजार पनि साँघुरो थियो।
जबकि, यसको बजार स्थानीय र सानो आकारमा नभएर विश्वव्यापी हुने सम्भावनाको ‘बिग पिक्चर’ सूचना प्रविधि व्यवसायमा जमेका गोविन्द अग्रवाल र उनको टिममा भएका बिक्की (बिसु) गोयनकाले आकलन गरे।
करीब तीन वर्षअघि एभरेष्ट हर्ब्समा लगानी, प्रविधि, उत्पादन क्षमता, ब्राण्डिङ र विस्तारित बजारको योजनाका साथ उनीहरुको ‘इन्ट्री’ भयो। संस्थापक श्रेष्ठ अहिले पनि कम्पनीको अध्यक्ष छन् भने अग्रवालले इन्टरनेशनल बिजनेस डेभलपमेन्ट भर्टिकल र गोयनकाले कम्पनीका उत्पादनहरुको इन्नोभेसन तथा रिसर्च एण्ड डेभलपमेन्टलाई लिड गरेका छन्।
उनीहरु भन्छन्, ‘यो संसारमै एउटा मात्र प्रडक्ट (मदिरा) हो, जसमा कलर, फ्लेवर र केमिकलको समिश्रण छैन। यसलाई पुष्टि गर्ने अन्तर्राष्ट्रिय परीक्षण प्रमाणपत्रसमेत भएकाले हामी यो दाबी गर्छौं। यसकारण हाम्रो उत्पादन युनिक छ र यसलाई स्थापित गर्न सके यो विश्वकै लागि रिभोलुसन हुने हाम्रो विश्वास छ।’
गोयनकाको भनाइमा – संसारका सबै मदिरामा सात किसिमका रसायन मिलाएर बनाइएको हुन्छ । यार्सागुम्बा बेभरेजमा भने त्यसमध्येका आर्सनिक, क्याडमियम, मर्क्युरी, लेड र सल्फर डायोक्साइड गरी ती पाँच रसायन छैन, जुन मानव स्वास्थ्यका लागि हानिकारक छ। यी तत्वहरु नहालिएकाले पनि यार्सागुम्बा बेभरेज दुई बोतल पिउँदा पनि ह्याङओभर नहुने र एसिडिटी पनि नगराउने दाबी उनको छ।
ह्याङओभर नहुने र मानव स्वास्थ्यका लागि हानिकारक रसायन, कलर तथा फ्लेवररहित भएको हङकङको सरकारी मान्यताप्राप्त त्यहाँको प्रयोगशाला तथा संस्थाबाट समेत प्रमाणित गरिसकेको अग्रवालले बताए। यस्तै, जापान र बेल्जियमबाट पनि यो प्रमाणित गर्ने प्रक्रियामा रहेको उनले जनाए।
यार्सागुम्बा बेभरेज युनिक हुनुको अर्को कारण यो पूर्णरूपमा ह्याण्डक्राफ्टेड ड्रिंक हो, जसमा यार्सागुम्बा र अन्य पाँच जडिबुटीमा भएका औषधीय तत्वहरुलाई प्रोसेसिङबाट निकालेर प्रयोग गरिएको बताइएको छ। यसकारण यो स्वास्थ्यका लागि पनि राम्रो भएको जिकिर कम्पनीको छ ।
यद्यपि, यसलाई वर्षौं राख्नयोग्य वा ‘एक्सपायरी’ नहुने बनाउन इएनएको प्रयोग गरिएकाले औषधीय उत्पादनका रूपमा चिनाउन ‘मेडिकल सर्टिफिकेसन’ मा भने नगएको भनाइ गोयनका र अग्रवालको छ।
७५० मिलिलिटरको बोटलमा आउने यार्सागुम्बा बेभरेजको बजार मूल्य ११ हजार रुपैयाँ पर्छ, जुन कुनै पनि नेपाली लिकरको तुलनामा सबैभन्दा महँगो हो। अझ नेपाली मात्र नभएर कतिपय स्थापित विदेशी ब्राण्डका मदिराभन्दा पनि महँगो !
अग्रवालका अनुसार यार्सागुम्बा बेभरेजमा प्रयोग भएको ‘इएनए’ एक मात्र आयातित सामग्री हो। बाँकी शतप्रतिशत नेपाली उत्पादन प्रयोग गरेर यो वर्ल्डक्लास बेभरेज बनाइएको छ।
यसकारण नेपालले गर्व गर्नसक्ने उत्पादनका रुपमा विश्व बजारमा चिनाउने प्रिमियम स्तरको बेभरेज बनाउन कुनै पनि कसर नछोडेको यसका उत्पादकहरुको भनाइ छ।
अग्रवालका अनुसार ७५० एमएलकै बोटलको २३९ अमेरिकी डलर अर्थात् करीब २८ हजार रुपैयाँ मूल्य रहनेगरी ‘ब्लु सफायर’ सेगमेन्टमा यार्सागुम्बा बेभरेज निर्यातको योजना रहेको छ।
अन्तर्राष्ट्रिय बजार हेरेरै नेपालमा मात्र नभएर विश्वभर यस ब्रान्डको व्यापार चिन्ह सुरक्षित गर्न एभरेष्ट हर्ब्सले विभिन्न मुलुकमा ट्रेडमार्क दर्ताको काम पनि सँगसँगै अघि बढाएको छ। जसअनुरुप हङकङमा ‘यार्सागुम्बा’ ट्रेडमार्क दर्ता भइसकेको छ भने संसारका अन्य १७० देशमा समेत यो मान्य हुनेगरी अन्तर्राष्ट्रिय ट्रेडमार्क रजिष्ट्रेसनको प्रक्रियामा रहेको जानकारी अग्रवालले दिए।