काठमाडौं – कोरोनाविरुद्धको भ्याक्सिनको प्रतीक्षा चातर्फी तीव्र छ। यस्तो अवस्थामा छिमेकी भारतमा ठूलो परिमाणमा भ्याक्सिन निर्माण हुने सम्भावना रहेको बिल एन्ड मलिन्डा गेट्स फाउन्डेसनका प्रमुख कार्यकारी मार्क सुजमेनले गरेका छन्।
एक अन्तर्वार्तामा सुजमेनले भारतमा बलियो संसाधन क्षमता रहेका कारण महामारीसँग लड्न सक्ने धारणा राखेका हुन्।
उनले भने, ‘‘मलाई लाग्छ, भारतसँग जति पनि संसाधन उपलब्ध छ त्यसबाट कोरोनाविरुद्धको लडाइँमा महत्वपूर्ण योगदान हुन सक्छ। भ्याक्सिन निर्माणमा भारतले ठूलो सहयोग पुर्याउन सक्छ।’’
भ्याक्सिन निर्माणपश्चात् विश्वव्यापी रुपमा वितरण आवश्यक पर्ने र विकासशील तथा धनी देशमा समान मात्रामा उपलब्ध गराउनु पर्ने सुनिश्चितता हुनुपर्ने उनले बताए। यसका लागि फाउन्डेसनले काम गरिरहेको उनले जानकारी दिए।
सुजमेनले भने, ‘‘बिल एन्ड मलिन्डा गेट्स फाउन्डेसनले कोभिड-१९सँग लड्न थुप्रै चरणमा काम गरिरहेको छ।’’ आगामी वर्षसम्म भारतमा भ्याक्सिन आउने विश्वास गरिएको छ। भारतमा सिरम इन्स्टिच्युट अफ इन्डिया तथा भारत बायोटेकले आगामी महिना इन्ट्रानेजल (नाकमा हाल्ने) कोरोना भ्याक्सिनको अन्तिम ट्रायल आरम्भ गर्ने भएको छ।