शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौँ – बलिउडका चर्चित गायक उदित नारायणका छोरा एवं गायक आदित्य नारायणले विहेको घोषणा गरेका छन्। गायक रियालिटी शो इण्डियन आइडलका उद्घोषक समेत रहेका आदित्यले प्रेमिका श्वेता अग्रवालसँग विहे गर्न लागेका हुन्। श्वेता अभिनेत्री हुन्। बलिउडका साथै दक्षिण भारतीय फिल्ममा प्रभास तथा किच्चा सुदीपजस्ता कलाकारसँग काम गरेकी छन्।

यसअघि आदित्यको विहे गायिका एवं इण्डियन आइडलकी जज नेहा कक्करसँग हुने चर्चा चलेको थियो। तर आदित्य १० वर्षदेखि श्वेतासँग प्रेम सम्बन्धमा रहेको खुलेको छ। १० वर्षको सम्बन्धलाई विहेमा परिणत गर्न दुबैका परिवार राजी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आदित्यले श्वेतासँग आफ्नो भेट सन् २०१० मा प्रदर्शनमा आएको फिल्म ‘शापित’को सेटमा भएको र एकअर्कालाई मन पराउन थालेको बताएका छन्। ‘शुरुआतमा श्वेता एक असल साथी बन्न चाहन्थिन्। किनकि हामी आफ्नो करियरमा फोकस हुन चाहनथ्यौं। त्यसबेला हाम्रो उमेर पनि सानै थियो। हरेक सम्बन्धजस्तै हामीले पनि आफ्नो सम्बन्धमा कैयौ उतार चढाव देख्यौ, भौग्यौ, पार गर्‍यौं,’ उनले भने।

आदित्यले नोभेम्बर वा डिसेम्बरमा विहे गर्नेगरी परिवारमा सल्लाह भइरहेको जानकारी दिए। ‘मेरा माता पिता श्वेतालाई निकै चाहन्छन् र राम्रोसँग चिन्छन् पनि। विहे एउटा औपचारिकता हो। जो दुबै परिवारको सल्लाहमा यसै वर्षभित्र हुनेछ,’ आदित्यले भनेका छन्।

आदित्यले नेहासँगको विहेको कुरा अफवाह मात्रै भएको स्पष्ट पारे। ‘त्यो सबै एक मजाक थियो। शो को पटकथाअनुसार चलेको थियो। तर केही मानिसले धेरै नै सोचे। यी कुरामा कुनै सत्यता छैन,’ उनले भने। नेहा मात्र राम्रो साथी भएको उनको भनाई छ।

उता नेहाले रोहनप्रीत सिंहसँग विहे गर्न लागेको चर्चा छ।

तपाईको प्रतिक्रिया