काठमाडौँ – विश्वभर कोरोना महामारीले १० लाख भन्दा बढीको ज्यान लिएको र विश्वभर अहिलेसम्म ३ करोड ८० लाखभन्दा बढी जना संक्रमित भएको अवस्थामा एक पटक संक्रमित भएकालाई फेरी संक्रमणको केस देखिएको छ ।
छिमेकी मुलुक भारतमा अहिलेसम्म तीन जनालाई पुन: संक्रमण देखिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालय र भारतीय आयुर्विज्ञान अनुसन्धान परिषदले भारतमा अहिलेसम्म ३ जनालाई पुन: संक्रमण भएको जानकारी दिएको छ ।
भारतमा मुम्बईका २ जना र अहमदावादमा एक जनालाई पुन: कोरोना संक्रमण भएको बताइएको छ । परिषदले कोरोना संक्रमण भएको ९० या सय दिनपछि फेरी संक्रमण भएको जानकारी दिएको छ ।
त्यस्तै विश्वभर अहिलेसम्म २४ जनालाई पुन: संक्रमण भएको बताइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अहिलेसम्म विश्वभर २४ जनालाई पुन: कोरोना संक्रमण पुष्टि भएको बताएको छ । एक पटक संक्रमण भएर ठिक भएको सय दिनको हाराहारीमा पुन: संक्रमण देखिएको बताइएपनि डब्लुएचओले यस बारेमा स्पष्ट गरेको छैन ।