काठमाडौं – अमेरिकी बहुराष्ट्रिय कम्पनी जोन्सन एन्ड जोन्सनले पनि कोरोनाभाइरस भ्याक्सिनको परीक्षण रोकेको छ । कोरोनाभाइरस भ्याक्सिनको सम्भावित औषधी भनिएको यो उत्पादनका अहिले अस्थायी रुपमा रोकिएको हो ।
कम्पनीका अनुसार यसअघि परीक्षणमा भाग लिएका एक व्यक्तिमा थप समस्या देखिएपछि यो भ्याक्सिनको परीक्षण अहिलेलाई रोकिएको हो । ती व्यक्तिलाई कस्तो समस्या देखिएको हो भन्ने अझै पुष्टि भइसकेको छैन । तर, एक स्वतन्त्र सुरक्षा समिति तथा कम्पनीले आफ्नो बिरामीको हेरचाह गरिरहेको बताइएको छ ।
यसअघि यो कम्पनीले बनाएको भ्याक्सिनको परीक्षणका लागि ६० हजार मानिस सामेल हुनसक्ने बताइएको थियो । यसका लागि अनलाइनबाट आवेदन पनि लिने भनिएको थियो । तर, अहिलेलाई अब यो परीक्षणको चरण रोकिएको छ । जोन्सन एन्ड जोन्सनले आफ्नो विज्ञप्तिमा ठूलो परीक्षणमा यस्तो रुकावट आएको बताएको छ ।
यसअघि गत साता पनि बेलायतमा ऐस्ट्राजेनिकले एक व्यक्तिलाई बिरामी भएको पुष्टि भएपछि आफ्नो भ्याक्सिनको परीक्षण रोकेको थियो । तर, यो कम्पनीले फेरि आफ्नो परीक्षण सुरु गरेको छ ।