टोकियो – पछिल्लो समय जापानमा नेपालीहरुमा कोरोना भाइरस संक्रमण बढेको छ । यस्तो महामारीको बेला पनि जापानमा विभिन्न भेलाहरुमा जमघट नरोकिएकोले नेपालीहरुमा संक्रमण फैलिएको बताईन्छ । जापानमा रहेका नेपालीहरुको विभिन्न संघ संस्थाहरु यस्तो महामारीमा पनि साधारण सभा, अधिवेशन तथा विभिन्न कार्यक्रम गरिरहेका छन् । यस्तो महामारीको बेला सबै नेपालीहरु आफै सचेत हुन जरुरी भएको नेपाल पत्रकार महासंघ, जापान साखाका अध्यक्ष मोहन घलेको भनाई छ । साथै अनाआवश्यक काममा हिडडुल नगर्न सबैमा उनको आग्रह छ ।
हालै मात्र विदेशमा नेपालीहरुको संस्था एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामान्य टाउको दुख्नुका साथै शरिरमा केहि अस्वस्थता भएपछि ८ तारिख जापानको खानागावा अस्पतालमा परीक्षणका लागि पुगेका भण्डारीलाई कोरोना परिक्षण गराउँदा संक्रमण देखिएको हो । चिकित्सकको परामर्श अनुसार खानागावाकै एक होटलको आईसोलेसनमा बसेको उनले बताए ।
आफ्नो पिसिआर रिपोर्ट पोजिटिभ आएकाले पछिल्ला केहिदिन यता आफ्नो प्रत्यक्ष सम्पर्गमा रहेका सबै व्यक्तिहरुलाई सतर्कता अप्नाएर कोरोना परिक्षण गराउनका लागि उनले अनुरोध गरेका छन् । सपरिवार जापानमा रहँदै आएका भण्डारीको परिवारका अन्य सदस्यहरुमा भने संक्रमणको कुनै लक्षण देखिएको छैन । उनीसंगै जापानस्थित खानागावा स्थित नेपाली कम्यूनिटीका सचिव समेत रहेका यमकान्त कँडेललाई पनि कोराना संक्रमण भएको भण्डारीले बताए । एनआरएनए जापानका अध्यक्ष रहेका भण्डारी गत साता मात्रै जापानमा नेपालीहरुको धेरै कार्यक्रमहरुमा सहभागी भएको बताइएको छ । त्यसैले धेरै नेपालीहरु लाई कोरोना संक्रमण हुन सक्ने अडकलबाजी गर्न थालिएको छ ।
यसैबीच लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानका अध्यक्ष तथा गायक सूर्य खड्कामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनका अनुसार उनको स्वास्थ्य अबस्था सामान्य रहेको र आफु टोकियो क्योसाई हस्पिटल नाकामेगुरो मा भर्ना गरी चेकजाँच संगै चिकित्सकको निगरानीमा रहेको बताउँदै उनले हस्पिटलको प्रक्रिया र यहाँको वातावरणमा फोनकलहरु र म्यासेजहरुको रिप्लाई गर्न नसकेकोमा क्षमाप्रार्थी छु भनेका छन्। उनले आफ्नो स्वास्थ्यको चासो राख्ने सबैलाई धन्यवाद दिएका छन् ।
त्यसै नेपालवाट नेपाल एयरलाईन्सको उडानबाट अक्टोवर ९ तारिक जापान आएका चार जना नेपालीलाई पनि कोरोना पुष्टि भएको छ । जसमध्ये एक जनाको टोकियोको एक अस्पतालमा उपचार भईरहेको छ भने ३ जनालाई भने टोकियोको एक होटेलमा क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
यतिवेला टोकियोमा धेरै नेपालीहरुलाई कोरोना संक्रमण भएको हुन सक्ने भन्दै जापानको योकोहामा स्थित वर्डा कार्यालयले दर्जनौं नेपालीहरु लाई उच्च निगरानीमा राखिएको बताइएको छ । योकोहामानै एक नेपाली युवाले नाम नबताउने शर्तमा आफु समेत अन्य नेपालीहरु पनि कोरोना संक्रमित भएको बताए ।
जापानमा नेपालीहरुलाई कोरोना संक्रमण बढ्न थालेपछि जापानमा रहेका केही संघ(संस्थाहरुले आफ्ना पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गर्न थालेका छन् । पछिल्लो समय चितवन समाज जापानले वडा दशैंको शुभ कामना आदान(प्रदान तथा सम्मान कार्यक्रम हालै मात्र स्थगित गरेको छ । जापानमा कोरोना भाइसर संक्रमण नेपालीहरूमा फैलिरहेको ले पूर्व निर्धारित कार्यक्रम स्थगन गर्न परेको समाजका अध्यक्ष राजनकुमार श्रेष्ठले बताए । त्यसै आगामी १८ तारिक गर्ने भनिएको गुल्मेली समाज, जापानको चौंथो अधिवेशन पनि स्थागित गरिएको छ । जापानमा अध्ययन, रोजगारी एवं व्यवशाय गर्दै करिब एक लाखको हाराहारीमा नेपालीहरु रहेको बताईन्छ । साथै जापानमा नेपालीहरुको अनगिन्ती संघ(संस्थाहरु रहेका छन् ।
जापानमा नेपाली समुदायमा कोरोना संक्रमण फैलिएको प्रति चिन्ता व्यक्त गर्दै जापान स्थित नेपाली राजदुत प्रतिभा राणाले सबै नेपालीलाई नआत्तिन र कोरोना संक्रमण भए नलुकाउन भनेकीछिन् । यस्तो महामारीमा नेपाली समुदायलाई कुनै पनि जमघटको कार्यक्रम नगर्न उनको सुझाव छ । जापानमा स्वास्थ्यका सबै नियमहरु पालना गर्न र कुनै समस्या परेमा राजदुतावासमा सम्पर्क गर्न उनले आग्रह गरेकीछिन् ।