काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १२ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयको कामकाज प्रभावित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मातहतका निकायमा कार्यरत झन्डै २ सय ४० जना कर्मचारीको पीसीआर परीक्षण गरिएकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उपसचिवसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीसँगै पीसीआर परीक्षण गरिएका राष्ट्रिय योजना आयोग र जल तथा ऊर्जा आयोगका गरी झन्डै १० कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीको सिंहदरबारस्थित निजी सचिवालयका उपसचिवसहित कार्यालयका १२ कर्मचारीको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरू सबै जना होम आइसोलेसनमा बस्न थालेका छन् । पोजेटिभ देखिएकाहरूमा कार्यालयका सुब्बा, खरिदार, कार्यालय सहयोगी र चालकहरू बढी रहेका छन् ।
प्रधानमन्त्री कार्यालयका १२ कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै केही सचिव र सहसचिवहरू कन्ट्याक्ट ट्रेसिङमा परेकाले उनीहरू पनि कार्यालय आउन छोडेका छन् । सचिव र सहसचिवहरू कार्यालय आउन छोडेपछि कार्यालयको काम थप प्रभावित भएको बताइएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारलाई कोरोना संक्रमण भएकामा उनीहरूलाई भने सन्चो भइसकेको छ ।