काठमाडौँ – भारतमा एक लाख भन्दा बढीको मृत्यु भइसकेपछि कोरोना संक्रमणको गतिमा कमि आएको जस्तो देखिएको छ । पछिल्ला केहि दिनमा संक्रमितको संख्या घटेसँगै संक्रमण फैलिने गतिमा कमि आएको हो त ?
भारतमा अक्टोबरमा हरेक दिन औसतमा ६४ हजार संक्रमण भएको देखिएको छ । जबकी सेप्टेम्बरको आखिरी दुई साताको औसत ८६ हजार रहेको थियो । यस अघि सेप्टेम्बर महिनाको औसत भने ९३ हजार प्रतिदिन रहेको थियो ।
अहिले मृतकको संख्या समेत घटेको छ । औसतमा हरेक दिन हजार भन्दा बढीको मृत्यु भइरहेकोमा अहिले त्यो संख्या ९ सय भन्दा तल आएको छ । यसैबीच परिक्षणको संख्या भने बढेको देखिएको छ ।
अक्टोबर महिनामा भारतमा हरेक दिन औसतमा ११ लाख भन्दा बढी परिक्षण भएको छ , जबकी सेप्टेम्बरमा यो संख्या साढे १० लाख रहेको थियो । यी आँकडालाई विश्लेषण गर्दा संक्रमणको गति घटेको होकी जस्तो देखिएको छ ।
तर विशेषज्ञहरुले भने अहिलेनै संक्रमण कम भयो भन्न हतार हुने बताएका छन् । विशेषज्ञहरुको विश्लेषणको प्रमुख आधार भारतमा अहिले भइरहेको परिक्षणको आधा भन्दा बढी परिक्षण र्यापिड एन्टीजेन परिक्षणबाट गरिनु हो । छिटो नतिजा दिने भएपनि यसको नतिजा ५० प्रतिशत गलत हुने भएकाले पनि यसकै आधारमा संक्रमण कम भयो भन्न नसक्ने उनीहरुको तर्क रहेको छ ।
मिचिगन विश्वविधालयका अनुसन्धानकर्ता ब्रहामर मुखर्जीले भारतमा कुल संक्रमितको संख्या १२ देखि १३ करोड सम्म पुगेको हुनसक्ने बताउछन्, जबकी अहिलेको सरकारी आँकडा ६७ लाख मात्र रहेको छ । भारतमा गरिएको एक अनुसन्धानमा अहिलेको सरकारी आँकडाभन्दा १५ गुणा बढी संक्रमित रहेको देखिएको छ । त्यस्तैले अहिलेका सरकारी आँकडाको विश्लेषण गरेर संक्रमण कम भयो भन्न नसकिने विश्लेषकहरुको दाबि रहेको छ ।
अब चाडपर्वको समय आएकाले मानिसहरुको भेटघाट झन् बढ्ने भएकाले अहिले नै संक्रमण घट्ने आकलन गर्न हतार हुने बताइएको छ ।
पछिल्लो आँकडा अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५४ हजारभन्दा बढी संक्रमित भएका छन् भने एक लाख ४ हजर ५९१ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा ५७ लाख ४१ हजार जना संक्रमण मुक्त भएका छन् भने अहिले ९ लाख ८ हजार मात्र संक्रिय संक्रमित रहेका छन् ।